Main News

सीसीएमसीको निर्णय, खोप कार्डको सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २६ गते २०:०६
सीसीएमसीको निर्णय, खोप कार्डको सास्ती (भिडियो रिपोर्टसहित)

२६ पुस २०७८ काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वयन केन्द्र (सीसीएमसी) ले होटल तथा रेष्टुँरा, फिल्म हल, पार्कलगायतमा प्रवेशका लागि मात्रै नभएर आन्तरिक उडान र सार्वजनिक कार्यालयहरुमा समेत सेवा लिन खोप लगाएको कार्ड अनिवार्य गर्न सिफारिस गरेको छ ।

कोरोनाविरुद्धको खोप नै प्रभावकारी नभइरहेको र ठूलो हिस्सा जनसंख्या खोपबाट बञ्चित भएको अवस्थामा सीसीएमसीको निर्णय व्यवहारिक नहुने मात्रै नभएर यस्तो तयारीले नागरिक थप प्रताडित हुने देखिएको छ ।

कोरोनाको तेस्रो लहर शुरु भैसकेको अवस्थामा सरकारले विभिन्न निषेधात्मक व्यवस्थाको तयारी गरिसकेको छ । भिडभाड कम गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मका तयारी भएका छन् । त्यसैमध्ये कोभिड–१९ संकट व्यवस्थापन सम्वन्य केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले सार्वजनिक सेवा लिन कोरोना विरुद्धको खोप अनिवार्य गर्न सिफारिस गरेको छ ।

सार्वजनिक कार्यालय, फिल्म हल, होटल तथा रेष्टुरेण्ट, आन्तरिक हवाई, पार्क लगायतका सार्वजनिक स्थलहरुमा प्रवेश तथा सेवा उपयोगका लागि खोप लगाएको कार्ड देखाउनु पर्ने सिफारिस छ ।

सीसीएमसीका कतिपय निर्णयहरु स्वभाविक भए पनि कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय व्यवहारिक नदेखिएको टिप्पणी हुन थालेको छ । किनकी अझै पनि ठूलो हिस्सा जनसंख्या खोपको पहुँच बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्याङ्कले देखाएको छ ।

हालसम्म पूर्ण खोप लगाउने जनसंख्या ३६ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ भने पहिलो डोज मात्र लगाउनेहरुको संख्या पनि करिब ४९ प्रतिशत मात्रै छ । लक्षित वर्गमा कोरोनाविरुद्धको खोप नपुगिरहेको अवस्थामा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्दा नागरिक प्रताडित हुने निश्चित छ ।

खोप कार्ड अनिवार्य गर्नुअघि गाउँगाउँमा खोप अभियान तीव्र पार्नुपर्ने विज्ञहरुको सुझाव छ । खोपको साटो तत्कालका लागि मास्क लगाउन अनिवार्य गर्नुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने, भिडभाड नियन्त्रण गर्नुपर्ने र सीमा नाकाहरुका कडाइ गर्नुपर्नेमा विज्ञहरुको जोड छ ।

जाडो महिना भएकाले अन्य भाइरलका बिरामी पनि बढ्ने भएकाले स्वास्थ्य संस्थामा पर्न सक्ने चापलाई मध्येनजर गर्दै तयारी अवस्थामा रहन विज्ञहरुले सुझाव दिएका छन् ।

खोप कोल्ड स्टोरमा थन्काएर राखेर नागरिकलाई खोप कार्ड अनिवार्य गर्नु न्यायसंगत देखिँदैन । निश्चित समय लिएर धेरैभन्दा धेरै नागरिक त्यसमा पनि जोखिममा रहेको वर्गलाई खोप लगाएपछि मात्रै खोप कार्ड अनिवार्य गर्दा न्योचित होला कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *