Main News

नेताको उपचारमा वर्षेनी करोडौं खर्च, जनता भने यस्तो अवस्थामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २५ गते २०:५३
नेताको उपचारमा वर्षेनी करोडौं खर्च, जनता भने यस्तो अवस्थामा (भिडियो रिपोर्टसहित)

२५ पुस २०७८ काठमाडौं । नेताहरुको उपचारमा सरकारले बर्षेनी कडोरौं रुपैयाँ खर्च गर्छ । पँहुच हुनेहरु सामान्य उपचारका लागि सरकारी खर्चमा विदेशमा पुग्छन् । तर, कर तिर्ने आम नागरिक उपचार नपाएर छटपटिनुपरेको छ । ऋण लिएर र जायजेथा बेचेरै उपचार गर्नुपर्ने बाध्यता छ ।

रामेछाप दोरम्बा घर भएकी बोधमाया विश्वकर्मा । बोधमाया अहिले वीर अस्पतालको शैयाँमा छटपटाइरहनुभएको छ । गत जेठमा भर्याङबाट लडेर उपचारका क्रममा हुनुहुन्छ । बाहिरी चोटको उपचार हुनसकेपनि बोधमायाले शरीरभित्र लागेको चोटको स्वास्थ्य जाँच गर्न सक्नुभएको छैन ।

चोट लागेको करिब दुई महिनापछि श्वास फेर्न कठिन भएपछि उहाँ उपचारका लागि काठमाडौं आउनुभयो । त्यतिबेला थाहाँ भयो कि उहाँको फोक्सोमा पानी जमेको रहेछ । कयौं पटक चिकित्सकले पानी निकालेर फालिदिए पनि पानी आउने क्रम रोकिएन् । र अहिले चिकित्सकले पाइपबाट पानी फाल्ने व्यवस्था मिलाइदिएका छन् । फोक्सोको पानी त फाल्ने व्यवस्था मिलाइयो त्यतिबेलासम्म बोधमायाको फोक्सोमा क्यान्सरले भेटिसकेछ । उपचारका लागि अहिले सम्म झण्डै दुई लाख रुपैयाँ खर्च भैसकेको छ । त्यो खर्च पनि उहाँले पाँच बाख्रा, अन्नपातका साथै आफ्नो साथमा भएको एक तिलहरी र कानमा भएको गहना पनि बेचेर जुटाउनु भयो । अब उहाँको थप उपचारका लागि बेच्ने केही छैन् ।

सरकारले क्यान्सर रोगीका लागि एक लाख रुपैयाँसम्म आर्थिक सहयाता गर्ने नीति लिएको छ । त्यसका लागि स्थानीय तहको सिफारिस अनिवार्य चाहिन्छ । तर, सिफारिस बनाइदिने कस्ने ? एउटा सिफारिसकै अभावमा बोधमायाले सरकारी सुविधाबाट बञ्चित हुनु परेको छ । एकल महिला बोधमायाको रेखदेख भदैं भदैं माया विश्वकर्माले गर्दै आउनु भएको छ । फुपुको उपचारमा खटिनु भएकी मायाले उपचारमा कतैबाट सहयोग नपाएको गुनासो गर्नुभयो ।

बोधमाया भन्दा कम पीडा छैन् बारा कलैयाका सिकन्दरप्रसाद धानुकको । वीर अस्पतालको प्राङ्गणमा बिरामी श्रीमतीसहित टोलाइरहेका सिकन्दरको टाउकोमा अहिले २ लाख ६० हजार रुपैयाँको ऋण छ । यो ऋण यिनै श्रीमती पार्वतीको उपचारका लागि लागेको हो । सिकन्दरले गाउँकै साहुजनसँग घर बन्दकी राखेर राखेर महंगो ब्याजमा ऋण लिनुभएको हो ।

मृगौलाको समस्याबाट पीडित श्रीमतीको उपचारमा कति खर्च लाग्ने हो सिकन्दरलाई केही थाहा छैन् । पाँच छोरा छोरी आफ्ना वृद्ध बुवा आमालाई छाडेर काठमाडौं आएका सिकन्दरलाई घर फर्किने खर्च पनि कसरी जुटाउने, टुंगो नै छैन् । उहाँले नागरिकका लागि सरकार भएको कतैबाट अनुभुति नै गर्नुभएको छैन ।

राज्यबाट बेवास्तामा परेकी अर्की पात्र हुन, दोलखा की कल्पना बस्नेतको । बोल्न र मान्छे चिन्न नसक्ने श्रीमान नरहरिको उपचारमा भए भरको कमाइ सकिएको छ । आफ्नो कमाइले नपुगेर सरसापटी पनि गरिसकेकी कल्पनाको श्रीमानको उपचारका लागि अब हात फैलाउनुको विकल्प छैन् । न्यूरो अस्पतालमा उपचार गर्दा एक लाख रुयैयाँ बढी खर्च भयो भने अहिले वीर अस्पतालमा पनि दैनिक ६ देखि १० हजार रुपैयाँ सम्म खर्च लागि रहेको छ ।

राज्यको तर्फबाट कल्पनाले पनि कुनै सहयोग पाउन सक्नु भएको छैन् । खर्च अभावमा बाँकी जीवन कसरी चल्ला ? यी नागरिकको निरिह अनुहारले राज्यको वेवास्तालाई झल्काउँछ । यी केही प्रतिनिधि मात्रै हुन् । उपचारकै लागि जीवनभर कमाएको कमाईले नपुगेर घर र खेतबारी बन्धकी राखेर उपचार गराउन बाध्य नेपालीको संख्या ठूलो छ ।

जेनतेनको कमाइबाट राज्य कर तिर्ने यी आम नागरिकको पीडा कहिलेसम्म यस्तो ? यिनै पीडितको करबाट उठेको करौडौं रकम नेता र पहुँचवालाहरुले उपचारका नाममा सहजै पाउँछन् । तर कतिपय आम नागरिक अस्पतालको मुखै नदेखि प्राण त्याग्न बाध्य छन् ।

स्वास्थ्य सेवा पाउने नागरिकको नैर्सगिक अधिकार हो । तर त्यो अधिकार संविधानमा मात्रै सीमित छ । संविधानमा लेखिएको त्यो अधिकार लेख्नेहरुले मात्रै पाएका छन् । नागरिकले त पँहुच हुनेहरुको उपचार गर्ने खर्च जुटाउनका लागि कर मात्रै तिरिदिनु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *