Main News

कांग्रेसभित्रकै विरोधले सत्ता गठबन्धन चुनावसम्म टिक्नेमा शंका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २४ गते २०:४६
कांग्रेसभित्रकै विरोधले सत्ता गठबन्धन चुनावसम्म टिक्नेमा शंका (भिडियो रिपोर्टसहित)

२४ पुस २०७८ काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउँदै आउनुभएको छ । तर, गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसमा भने गठबन्धन तोड्नुपर्ने बहसले जवरजस्त प्रवेश पाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको मनमा के चलिरहेको भन्ने अहिलेसम्म प्रष्ट छैन । त्यसैले कांग्रेसभित्र अरु दलका चुनाव चिन्हमा कहिलेसम्म मत हाल्ने भन्ने प्रश्न उठ्न थालेका छन् । १४औँ महाधिवेशनबाट थप शक्तिशाली बनेका सभापति देउवाले गठबन्धनबारे गर्ने निर्णयले नै यसको भविष्य निर्धारण गर्छ ।

गोरखा जिल्लामा शुक्रबार आयोजित एउटा कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले अरु दलसँग गठबन्धन नगर्ने बताउनुभयो । उहाँको यो भनाइमा कार्यकर्ताहरुले त ताली पिटे तर, सभापति शेरबहादुर देउवाले मान्नुहोला ? यो प्रश्न यथावत् छ ।

देउवाले नमानि अरु नेताको भाषणले कांग्रेसमा खासै अर्थ राख्दैन । किन पनि भने १४औँ महाधिवेशनले देउवालाई पार्टीमा शक्तिशाली बनाएको छ । देउवाकै नेतृत्वमै सत्ताका लागि पटक–पटक अरु दलहरुसँग चुनाव चिन्ह साटिएका छन् ।

संस्थापक नेता वीपी कोइरालाले प्रजातान्त्रिक आन्दोलनमै पनि कांग्रेसले वामपन्थीहरुसँग सहकार्य नगर्ने अडान नै राख्नुभयो । तर, वीपीकै आदर्श मान्ने कांग्रेसले सत्ता स्वार्थका लागि पटक–पटक अरु दलहरुसँग निर्वाचनमा चुनाव चिन्ह साट्नुपरेकोमा कांग्रेस कार्यकर्ताहरु दुखी छन् ।

देउवाले २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसको पकड क्षेत्र मानिएको चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहाललाई भोट हाल्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन नै दिनुभयो । यति मात्र होइन, थापाले आगामी निर्वाचनमा अरु दलसँग गठबन्धन नगर्ने घोषणा गरेको जिल्ला गोरखाकै कांग्रेसीहरुले तत्कालिन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई जिताउनुपरेको थियो ।

भट्टराईलाई मात्र होइन, आफ्नो क्षेत्रमा पकड भएका नेताहरुलाई वाइपास गरेर अरु क्षेत्रबाट उम्मेदवार खडा गर्न पनि कांग्रेस हिच्किचाएको छैन । लोकतान्त्रिक धारको मुख्य दल दाबी गर्ने कांग्रेसले पटक–पटक अरु दललाई निर्वाचनमा साथ दिने गरेको छ र साथ दिएकै दलबाट धोका पनि पाउँदै आएको छ ।

अहिले पनि पाँच दलीय गठबन्धनको बलमा सत्ताको भर्याङ चढेका देउवाले यो गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्नुहुने हो कि भन्ने चिन्ता र चासो कांग्रेसजनमा छ । गठबन्धनका अन्य घटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु तीनै तहको निर्वाचनसम्म गठबन्धनको निरन्तरता हुने आश्वासन आफ्ना कार्यकर्ताहरुलाई बाँड्दैछन् ।

यता, कांग्रेस सभापति देउवा र उहाँ निकट नेताहरुले गठबन्धनबारे मुख खोलेका छैनन् । कांग्रेसभित्रको प्रतिपक्ष मानिएको समूहका नेताहरुले मात्र गठबन्धन कायम नरहने बाँसुरी बजाउँदै आएका छन् । तिनैमध्ये महामन्त्री थापा एक हुनुहुन्छ । उहाँ बाहेक पनि एउटै समूहका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्रि पाण्डे, नेता अर्जुननरसिंह केसीहरुले अब कांग्रेस कार्यकर्ताहरुले अरु दलका चुनाव चिन्हमा मत हाल्नुनपर्ने दाबी गर्दैछन् ।

राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार छान्ने निर्णयमा एक्लौटी गरेका देउवाले गठबन्धनको महत्वपूर्ण निर्णयमा पार्टीभित्रैका प्रतिपक्षको सल्लाह मान्नुहोला भन्ने छैन । तर, सत्ता स्वार्थमा आफू अनुकुल हुने भए गठबन्धन कायम राख्न र नहुने भए भंग गर्न देउवाका लागि कुनै आइतबार पर्खनुपर्दैन । अन्य नेताहरुले बोल्दैमा केही नहुने १४औँ महाधिवेशनपछि बसेका केन्द्रीय समिति बैठकका निर्णहरुले पनि प्रष्ट्याइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *