Main News

संसद गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाको पहल सफल होला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २४ गते २०:३३
संसद गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाको पहल सफल होला ? (भिडियो रिपोर्टसहित)

२४ पुस २०७८ काठमाडौं । दुई पटक विघटनपछि पुनर्स्थापना भएको संसदको गतिरोध कायमै छ । संसदको औचित्य सावित गर्न नदिन एमालेले निरन्तर बैठक अवरोध गर्दै आएको छ ।

हुनत उसले आफूले कारवाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै संसद चल्न नदिने अडान राखेको छ । यो अडानले संसदीय प्रक्रिया रोकिएका छन् । लामो समयदेखिको संसद अवरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल थाल्नुभएको छ ।

सर्वोच्च अदालतको आदेशमा गत असार २८ गते प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भयो । संसद पुनर्स्थापना लगत्तै सर्वोच्चकै आदेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभयो । संसद पुनर्स्थापना भएको पनि ६ महिना पुगिसक्दा पनि प्रभावकारी काम गर्न सकेको छैन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसदले नियमित काम गर्न नपाएको हो । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले प्रश्न उठाएको छ भने तत्कालिन एमालेमा रहेका र पछि नेकपा एकीकृत समाजवादीमा लागेका १४ जना सांसदको पद खारेज गर्न माग गर्दै एमालेले संसद अवरुद्ध पारिरहेको छ ।

संसदको अवरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटक पटक ओली निवास बालकोट पनि पठाउनु भयो तर एमाले संसदको अवरोध हटाउन तयार भएन । त्यस्तै उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेल पनि बालकोट पुगेर ओलीलाई संसदको अवरोध हटाइदिन आग्रह त गर्नुभयो । तर पनि अध्यक्ष ओली सकारात्मक हुनुभएन ।

पटक पटकको आग्रह पछि पनि संसदको अवरोध नहटेपछि सत्तारुढ गठबन्धनले ओलीलाई मनाउने जिम्मेवारी प्रधानमन्त्री देउवालाई नै दिएको छ । सोही निर्णय अनुसार प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीलाई भेट्न शनिवार विहान उहाँकै निवास बालकोट पुग्नु भयो ।

झण्डै एक घण्टा लामो एक्ला–एक्लै भेटमा के कुरा भयो र ओलीबाट कस्तो जवाफ आयो भन्ने प्रष्ट छैन । तर, दुई नेताहरुबीच सकारात्मक छलफल भएको एमाले अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिनुभएको छ ।

दुई नेताहरुको भेटमा संसदको गतिरोध अन्त्य गर्ने, आगामी निर्वाचन, एमसीसी लगायतका बिषयमा छलफल भएको बताइएको छ । हिमालय टेलिभिजनसंग कुरा गर्दै गृहमन्त्री बालकृष्ण खाँणले संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष ओलीलाई आग्रह गरेको जानकारी दिनु भयो ।

खाँणका अनुसार संसदको बैंठक चल्न दिएर देशमा देखिएका समस्या र जनताले भोग्नु परेका समस्यालाई सदनमा छलफल गरौं भनेर प्रधानमन्त्री देउवाले ओलीलाई आग्रह गर्नु भएको थियो । प्रधानमन्त्रीको आग्रहमा एमाले सकारात्मक भएर विस्तारै सदन चलाउन वातावरण बनाउने खाणको विश्वास छ ।

संसद खुलाउन प्रधानमन्त्री देउवाले ढिलै भएपनि पहल थाल्नु सकारात्मक मानिएको छ । संसद अवरुद्ध हुँदा देश र जनताका समस्यालाई निकास निकाल्न नसकिएकाले समस्याको समाधानका लागि सरकार र प्रतिपक्षी दल दुवै जिम्मेवार बन्नुपर्ने विश्लेषक पुरुषोत्तम दाहाल बताउनु हुन्छ ।

छलफल सकारात्मक भनिएपनि एमालेले प्रधानमन्त्री सामु केही शर्तहरु राखेको स्रोतले बताएको छ । कांग्रेससहितको पाँच दलीय गठबन्धन तोड्ने एमाले अध्यक्ष ओलीको भित्रि चाहना लुकेको छैन । एमसीसी पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवा पनि एमालेको शर्त मान्न तयार बन्नसक्ने आंकलनहरु हुन थालेका छन् ।

जे होस् संसदको गतिरोध कायमै रहेकाबेला सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको यो संवादले निकासको वातावारण बनाएकोमा कुनै शंका छैन । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सार्वजनिक समारोहमा दुई पटक भेट भएपनि भेटवार्ता र छलफल भने पहिलो पटक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *