Main News

माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ पुष २४ गते १३:२३
माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुमा कोरोना संक्रमण पुष्टि

२४ पुस २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही असहजता देखिएकाले पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । केही दिनदेखि प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको थियो ।

स्वकीय सचिव एवं छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत् प्रचण्डलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । प्रचण्ड अहिले आफ्नै निवासमा आराम गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सकको सल्लाहअनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले प्रचण्डका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएका छन् ।

यसैबीच माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ। त्यस्तै माओवादी केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई समेत कोरोना भएपछि कार्यालय नै बन्द गरिएको थियो ।

माओवादी अध्यक्षमा पुनः निर्वाचित भएका प्रचण्डलाई बधाई दिन जानेहरु अधिकांशमा पनि संक्रमण भएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि संक्रमित हुनुभएको छ ।

प्रचण्डलाई बधाई दिन गएका वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसीएल अध्यक्ष सुमन देवकोटा, वाइसिएल नेता तथा हाल केन्द्रीय सदस्य सुवोध श्रीपाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डेलगायत अधिकांश संक्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *