Main News

खुल्ला सीमा : संक्रमणको भयावह स्थिति आउने खतरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २३ गते २०:४६
खुल्ला सीमा : संक्रमणको भयावह स्थिति आउने खतरा (भिडियो रिपोर्टसहित)

२३ पुस २०७८ काठमाडौं । भारतमा ओमिक्रोन संक्रमण बढेसँगै नेपाल भित्रिने संक्रमितको संख्या बढ्न थालेको छ । खुल्ला सीमा त्यसमाथि नाकामा स्वास्थ्य जाँचको उचित व्यवस्था नहुँदा संक्रमणको भयावह स्थिति आउने संकेत देखिएको छ ।

नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या बढ्न थालेको छ । नेपालगञ्जस्थित रुपेडिया नाकाबाट पछिल्लो दुई दिनमा नेपाल प्रवेश गरेकामध्ये ६० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो नौ दिनमा विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने १९ जनामा संक्रमण पुष्टि भएको त्यहाँको हेल्थ डेस्कको तथ्यांक छ । बिहीबार रुपेडिया नाकामा आएका पाँच सय २६ जनामा परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको थियो भने शुक्रबार साँझसम्म ६ सय १५ मा परीक्षण गर्दा ३३ जनामा संक्रमण देखियो ।

भारतबाट फर्किदै गरेका व्यक्तिहरुलाई सीमा नाकामा रोकेर एन्टिजेन परीक्षण गर्ने गरिएको छ । संक्रमितहरुमध्ये पनि ओमिक्रोन भए नभएको एकीन गर्न केही नमुनाहरु काठमाडौं पठाइएको छ ।

संक्रमित नेपालीलाई आइसोलेशनमा पठाइने गरिएको छ भने भारतीय नागरिकलाई उतैका प्रहरीको जिम्मा लगाइने गरिएको छ । संक्रमण नदेखिएकाहरुलाई भने रिपोर्ट दिएर घर पठाउने गरिएको छ ।

बिहान ८ बजेदेखि साँझ साढे पाँच बजेसम्म शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइदै आएको छ । यो अवधिबाहेकका समयमा परीक्षण गरिँदैन । यसले पनि छोटो समयमै नेपालमा गम्भीर अवस्था सिर्जना हुन सक्छ । सम्बन्धित निकायले सीमा नाकामा कडाई गर्नुका साथै परीक्षणको दायरा बढाउनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *