राजनीति

जिल्ला अधिवेशनमा पनि ओलीको पुरानै शैली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २३ गते २०:३९
जिल्ला अधिवेशनमा पनि ओलीको पुरानै शैली (भिडियो रिपोर्टसहित)

२३ पुस २०७८ काठमाडौं । लोकतन्त्रको दुहाई दिने नेकपा एमालेले आन्तरिक प्रतिष्पर्धालाई बेवास्ता गर्दै आएको छ । चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले खल्तीबाटै केन्द्रीय सदस्यको नाम चयन गर्नुभयो ।

उहाँको यो शैलीको सानो स्वरमा एमालेभित्रै विरोध भएको थियो । शुक्रबारदेखि जारी जिल्ला अधिवेशनमा पनि उहाँको यो शैली पुनः दोहोरिएको छ । सहमतिमै नेतृत्व चयन गर्न अध्यक्ष ओलीले निर्देश गर्नु आफू अनुकुलकै जिल्ला नेतृत्व चयन गर्ने रणनीति मान्न सकिन्छ ।

चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनपछि अध्यक्ष ओलीले पार्टीलाई कम्पनी जस्तै बनाउन खोजेको आरोप लागेको छ । यो आरोप लाग्नुको एउटै कारण हो पार्टीमा आन्तरिक प्रतिस्पर्धा नगराउनु, आफू खुसी र आफ्नो मनपरेका व्यक्तिलाई मात्रै जिम्मेवारी दिनु । नेतृत्वको दौडमा रहेका धेरै नेता–कार्यकर्ताहरुलाई मैदानमा उत्रिनै नदिएर ओलीले सहमतिका नाममा आफ्नै खल्तीबाट नाम पढेर सुनाउने काम छोड्नुभएन ।

यसको विरोधमा सानो स्वर सुनिएपनि अधिकांशले उहाँ विरुद्ध बोल्ने हिम्मत गरेका छैनन् । महाधिवेशनमा केन्द्रीय सदस्यको नाम होस् वा गाउँ–पालिका, प्रदेश कमिटीको अधिवेशनसम्म पनि सहमतिका नाममा अध्यक्ष ओलीले आन्तरिक प्रतिष्पर्धा हुनै दिनुभएन । केन्द्रीय महाधिवेशनमा त ओलीले आफैंलाई अध्यक्ष घोषणा गर्नु भएको थियो भने पदाधिकारी सहितका कार्यसमितिको नाम पनि आफैंले पढेर सुनाउनु भएको थियो ।

त्यसको विरोध भीम रावलले गर्नुभएको थियो । तर, ओलीको पकडमा पुगिसकेको एमालेमा रावलले उठाएको मुद्दा सुनुवाइ हुन सकेन । शुक्रबार देशैभरका ६१ जिल्लामा अधिवेशन सुरु भएको छ । यो अधिवेशनमा पनि सहमति गर्न जोड दिएका ओलीले यही नै उच्चतम लोकतान्त्रिक अभ्यासको संज्ञा दिनुभएको छ ।

सहमतिको नाममा अध्यक्ष ओलीले आफू निकटका र आफूलाई साथ दिने व्यक्तिलाई मात्रै जिम्मेवारी दिने गरेको आरोप लाग्ने गरेको छ । ओली निकटले सहमति नै गरेर नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएपनि कतिपय नेता कार्यकर्ताहरुले भने कार्यकर्ताको भावना विपरित सहमतिको नाममा नेतृत्व चयन गर्न नहुने धारणा राख्छन् ।

सकेसम्म सहमतिमै नेतृत्व चयन गर्नु पर्ने नभए आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गनुपर्ने कतिपयको जोड छ ।

एमालेको अध्यक्षमा निर्वाचित भएदेखि नै ओलीले आफूलाई सहयोग गर्नेहरुलाई काखी च्याप्ने र सहयोग नगर्नेहरुलाई पेलेर अघि बढ्ने नीति लिनु भएको छ । एमाले पार्टी विभाजन हुनुको मुख्य कारण नै यही भएको आलोचकहरु बताउँछन्। संसदको ठूलो पार्टी र आफूलाई लोकतन्त्रको हिमायति मान्ने पार्टीले आन्तरिक प्रतिष्पर्धा हुन नदिंदा सन्देश राम्रो गएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्