Main News

नारायणहिटीभित्र रेष्टुरेन्ट : कति सही कति गलत ? के भन्छन विज्ञ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २३ गते १७:०८
नारायणहिटीभित्र रेष्टुरेन्ट : कति सही कति गलत ? के भन्छन विज्ञ ?  (भिडियो रिपोर्टसहित)

२३ पुस २०७८ काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्रको बगैँचामा रेष्टुरेन्ट संचालनका लागि शुरु गरिएको संरचना निर्माण कार्य रोकिएको छ । शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको ऐतिहासिक क्षेत्रलाई व्यवसायिक प्रयोजनमा लगाएको भन्दै आलोचना भएपछि ६ महिनादेखि चलिरहेको निर्माण कार्य पर्यटन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा रोकिएको हो ।

तर जानकारहरुले संग्रहालयलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको स्तरीय बनाउन पनि परिसरमा क्याफे, शौचालय र विश्रामस्थल आवश्यक हुने बताएका छन् । रेष्टुरेन्ट सञ्चालन गर्दा संग्रहालयको ऐतिहासिक महत्वलाई भने ध्यान दिनुपर्ने उनीहरुको तर्क छ ।

संग्रहालयभित्र बगैँचामा ‘रोयल बगैंचा रेस्टुरेन्ट’ सञ्चालन गर्न २०७७ पुस १७ मा बतास समूहको बीपीएस लिजिङ कम्पनीसँग सम्झौता भएको थियो । अहिले उक्त स्थानमा केही पक्की संरचना बनाइएको छ । जबकि रेस्टुरेन्टले पक्की संरचना बनाउन नपाउने सम्झौतामा उल्लेख छ ।

सम्झौता विपरित संरचना निर्माण गरेको भन्दै चौतर्फी आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा काम रोकिएको छ । मन्त्री आले संग्रहालयभित्रबाट बतास समूहलाई हटाएरै छाड्ने अड्डिमा हुनुहुन्छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप पनि संग्रहालय अवलोकनकर्ताको सहजताका लागि रेष्टुरेन्ट आवश्यक रहेको जानकार बताउँछन् ।

नारायणहिटीमा मात्र होइन देशका अन्य संग्रहालय र सम्पदा क्षेत्रमा व्यवस्थित रेष्टुरेन्ट, शौचालय र संग्रहालयबारे जानकारी दिने स्थानको निर्माण गर्न सरकारलाई उहाँको सुझाव छ ।

उसो त नारायणहिटी संग्रहालय घुम्न आउने पर्यटकलाई लक्षित गरी रेस्टुरेन्ट सञ्चालन गर्न व्यवसायीहरुले यसअघि पनि सरकारलाई पटक पटक आग्रह गरेका थिए ।

खुल्ला प्रतिस्पर्धाबाट रेष्टुरेन्ट संचालन गराउन व्यवसायीको सुझाव भए पनि के र कस्तो सुविधा दिने भन्ने स्पष्ट नपारी सेटिङमा बतास समूहलाई जिम्मा लगाएकोमा असन्तुष्टि बढेको छ ।

रेष्टुरेन्टमा संग्रहालयबारे जानकारी दिने ऐतिहासिक तस्बिर तथा नेपाली कला संस्कृति झल्कने सेवा सुविधालाई प्राथमिकता दिनुपर्ने उनीहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *