Main News

दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै, राहतस्वरुप एक लाख वन पाउने

हिमालय टिभी
२०७८ पुष २३ गते ७:०६
दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै, राहतस्वरुप एक लाख वन पाउने

२३ पुस २०७८ सिउल । दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ ।

कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोना राहत रकम बाँडिरहेको हो ।

राहत रकमअन्तर्गत एक लाख कोरियाली वन (झण्डै रु १० हजार) प्रदान गरिने छ । यो राहत कोरियामा रही एच २, एफ ४, एफ ५ र एफ ६ भिसावाहक नेपालीसहित सबै विदेशीले पाउन सक्ने छन् ।

यसलाई प्राप्त गर्न उपमहानगर पालिका वा वडा कार्यालयबाट अनलाइन वा अफलाइन फर्म भरेपश्चात आफ्नो ठेगानामा एउटा ‘ईन्छन इयोङ कार्ड’ सपिङ कार्ड प्राप्त हुनेछ । जुन कार्डबाट नगद निकाल्न भने पाइने छैन । यसबाट ईन्छन उपहानगर पालिकाभित्र रहेका सपिङ मलहरूबाट एक लाख कोरियाली वन बराबरका सामान किनमेल गर्न सकिन्छ ।

गत डिसेम्बर दोस्रो हप्तादेखि सुरु भएको नाम दर्ता र कार्ड बाँड्ने प्रक्रिया जनवरी अन्तिमसम्म चल्नेछ । कार्डमा भएको रकम मार्चभित्र खर्च गरिसक्नु पर्नेछ । नेपालीलगायत विदेशीले पनि यो रकम पाउने भनिए पनि ई ९ प्रवेशाज्ञा बाहकलाई भने नदिइने भएको छ ।

अधिकांश प्रवासी श्रमिकको प्रवेशाज्ञा ई ९ भएका कारण यसबाट लाभान्वित हुने प्रवासीहरू कम हुनेछन् । यद्यपि उक्त कार्ड प्रयोग गर्न सबैले पाउने र कार्डमा आफैँले पैसा राखेर अन्य समयमा किनमेल गर्दा १० प्रतिशत छुट पाउन सकिने कुरा यहाँ लामो समयदेखि श्रम गरिरहेका नेपाली बीबी सिंहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *