Main News

प्रधानमन्त्री देउवाको भारत भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट अनुमोदन

हिमालय टिभी
२०७८ पुष २२ गते ७:५३
प्रधानमन्त्री देउवाको भारत भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट अनुमोदन

२२ पुस २०७८ काठमाडौं । देउवा आगामी आइतबार भारत भ्रमणमा जानुहुने भएको छ । हिजोको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमणलाई अनुमोदन गरेको हो ।

गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लाग्नुभएको हो । त्यसक्रममा उहाँको भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुनेछ ।

बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ । पुस २३ गते सेवा अवधिका कारण गणेश अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि सरकारले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो ।

बैठकले भारतसँग मल खरिद सम्झौता गर्ने निर्णय गरेको जनाइएको छ । यस्तै उखुको समर्थन मूल्य पनि निर्धारण गरेको छ। बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो ।

सरकारले उखुको समर्थन मूल्य गतवर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढाएको छ । तर किसानहरुले भने ६५० रुपैयाँ तोक्न माग गर्दै आएका थिए । समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ ।

सरकारले गत आर्थिक वर्ष २०७७७८ का लागि प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो । यस्तै राष्ट्रिय युवा परिषद्‌को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् ।

बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बस्नेत माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष एवं माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश कमिटीका सचिव हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *