राजनीति

परिवारका सदस्यलाई उकास्न नेताहरूको यस्तो तँछाड–मछाड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २० गते २०:५४
परिवारका सदस्यलाई उकास्न नेताहरूको यस्तो तँछाड–मछाड (भिडियो रिपोर्टसहित)

२० पुस २०७८ काठमाडौं । राज्य सत्तामा बढीभन्दा बढी जनताको प्रतिनिधित्व हुनुपर्ने वकालत गर्ने नेताहरु परिवारको पृष्ठपोषणभन्दा बाहिर जान सकेका छैनन् । लोकतन्त्रको दुहाइ दिने मात्र होइन, जनताको सर्वाधिकारको व्याख्या गर्नेसम्मका नेताहरु आफ्नै परिवारभित्रकालाई उकास्न तछाँड–मछाड गर्छन । प्रमुख तीन वटा राजनीतिक दलले आफ्नो महाधिवेशन सके तर, ति महाधिवेशनले नेताका परिवारलाई स्थापित गर्न कुनै कसर बाँकी राखेन ।

जनताको हितमा काम गर्नुपर्ने नेताहरू आफैं सत्तामा लिप्त भई घरपरिवार र नातावादमा जेलिएका छन् । कुनै समय त्याग र बलिदानको परिभाषा दिंदै हिँडेका नेताहरु अहिले आफैं परिवारवाद र नातावादको सिकार भएका छन् ।

परिवारवादले जनताको अधिकार कुण्ठित गरेको भन्दै आन्दोलन गर्ने राजनीतिक दलका नेताहरु राम्रा होइन, हाम्रालाई प्राथमिकतामा राख्न कुनै कसर बाँकी राख्दैनन् । त्यसैले पनि नेताहरुको सोच र शैली हिजोका शासकभन्दा फरक देखिँदैन । परिवारवाद र नातावादले नेपालको सबै राजनीतिक दललाई गाँजेको छ ।

पारिवारिक मोहमा फसेका नेतामध्ये एक हुन् पुष्पकमल दाहाल प्रचण्ड । हालै सम्पन्न माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्डमाथि आफूखुसी केन्द्रीय सदस्य चयन गरेको आरोप लाग्यो, त्यतिमात्रै होइन, उहाँमा पारिवारिक मोह देखियो । उहाँले परिवारका सदस्य भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र बुहारी विना मगरलाई केन्द्रीय सदस्यमा चयन गर्नुभयो ।

प्रचण्डका भाइ नारायण दाहाल खस–आर्यतर्फ केन्द्रीय सदस्य सूचीको एक नम्बरमा पर्नुभएको छ । त्यसो त उहाँले परिवारका सबै सदस्यलाई राजनीतिमा समेट्न कुनै कसर बाँकी राख्नुभएको छैन । पुत्री गंगा दाहाललाई स्वकीय सचिव बनाएका प्रचण्डले ज्वाइँहरूलाई पनि राजनीतिक जिम्मेवारी सुम्पिनुभएको छ ।

प्रचण्ड मात्र होइन, अर्थमन्त्री जनार्दन शर्मामाथि पनि परिवार च्याप्न खप्पिस हुनुहुन्छ । उहाँका सहोदर भाइ अनिल शर्मा र बहिनी नारायणी शर्मा केन्द्रीय सदस्य बन्नुभयो । माओवादी सांसद देव गुरुङको जोडी पनि नातावादबाट मुक्त छैनन् ।

गुरुङले आफ्नी श्रीमतीलाई जनजातिको कोटाबाट समानुपातिकबाट प्रतिनिधिसभाको सांसद बनाउनुभएको छ। त्यस्तै, माओवादी नेता शक्ति बस्नेतको दम्पत्ति पनि सक्रिय राजनीतिमा हुनुहुन्छ। उहाँकी श्रीमती तथा पूर्वशान्तिमन्त्री सत्या पहाडी पनि समानुपातिक सांसद छिन् ।

काम गरेरै अरुसँग प्रतिष्पर्धाबाट नेतृत्वमा होइन, खल्तीबाट आउन तयार उहाँहरुको योगदान के हो त रु यसको चौतर्फी आलोचना हुने गरेको छ ।

पार्टी नेतृत्वमा मात्र होइन, श्रीमती र आफन्तलाई पनि समानुपातिकबाट सांसद बनाउने प्रचलन नेपालमा व्याप्त छ । माओवादी केन्द्रका नेता वर्षमान पुन पनि नातावादबाट अलग हुन सक्नु भएन । उहाँ आफूसँगै श्रीमती र अरु नातेदारलाई राजनीतिक लाभ दिलाउन खप्पिस मानिनुहुन्छ । कुरा माओवादीको मात्र होइन, अरु दलमा पनि उस्तै छ ।

एमाले अध्यक्ष केपी ओलीसँग असन्तुष्ट नेता वामदेव गौतमकी श्रीमती तुलसा थापा पनि संघीय सांसद हुनुहुन्छ । उहाँ जनजाति कोटाबाट समानुपातिक सांसद बन्नभएको थियो । एमाले सचिव रघुवीर महासेठ र उहाँकी श्रीमती जुली महतो पनि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

नेताहरू स्वयंलाई समाजको असमानताले भन्दा पनि परिवारवादले गाँज्ने गरेको छ । एमाले महासचिव शंकर पोखरेल दम्पती पनि राजनीति लाभ लिने सूचीबाट बाहिर हुनुहुन्न । सानो दल नेकपा मालेका महासचिव सीपी मैनाली र उहाँकी श्रीमती निलम खड्का पनि राजनीतिमै सक्रिय हुनुहुन्छ। कम्युनिष्ट पार्टीमा मात्र होइन, कांग्रेस पनि परिवारवादबाट बाहिर छैन ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले पत्नी मञ्जु खाँणलाई केन्द्रीय समितिमा ल्याउनुभएको छ ।

कांग्रेस महाधिवेशनमा सभापतिका आकांक्षी प्रकाशमान सिंहले पनि आम कार्यकर्तालाई छाडेर श्रीमती र छोरालाई पनि सक्रिय राजनीतिमा ल्याउनुभएको छ ।

आफ्ना सन्ततिप्रतिको मोहले कतै तिनलाई पथभ्रष्ट त गरिरहेको छैन ? मुलुक बनाउने शपथ लिएको प्रमुख व्यक्तिले आफ्नो सन्तति वा परिवारको मोहमा परेर राजनीतिक गन्तव्यसँगै आफ्नो सन्ततिलाई कुनै गलत दिशातिर निर्देशित गरिरहेको त छैन ?

यस्ता संवेदनशील विषयप्रति नेतृत्व तहका व्यक्तिहरू सचेत हुनुपर्ने देखिन्छ । उचालेको कुकुरले मृग मार्दैन भन्ने उखान आफूलाई राजनीतिको पारखी ठान्ने नेताहरूले आफ्ना परिवारजनलाई राजनीतिमा लाग्न प्रेरित गर्नुअघि सोच्न आवश्यक देखिन्छ । राजनीतिमा परिवारलाई प्रश्रय दिने कि सक्षम कार्यकर्ताहरुलाई पनि मौका दिने रु परिवारवादको भूमरिमा फँसेका राजनीतिकर्मीबाट मुलुकले के आशा गर्न सक्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्