Main News

राष्ट्रियसभा चुनावका लागि कुन प्रदेशका कति उम्मेदवार ? (सूचीसहित)

हिमालय टिभी
२०७८ पुष २० गते १८:५५
राष्ट्रियसभा चुनावका लागि कुन प्रदेशका कति उम्मेदवार ?  (सूचीसहित)

२० पुस २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका विभिन्न दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश १ मा पाँच दलीय गठबन्धनमा कांग्रेसबाट झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका–अल्पसंख्यकतर्फको कोटाबाट जनता समाजवादी पार्टीका हेमराज थुलुङ राईले मनोनयन दर्ता गर्नुभएको हो ।

यस्तै एमालेबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक वा अपांग कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिनुभयो । प्रदेश १ मा राप्रपाले पनि उम्मेद्वारी दिएको छ । राप्रपाबाट खुलातर्फको सदस्यमा झापाका अम्मरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले मनोनयन दर्ता गराउनुभएको हो ।

प्रदेश २ मा सत्तारुढ गठबन्धनका तर्फबाट अन्य समूहमा जसपाका मोहम्मद खालिद सिद्दिकी र महिला समूहमा माओवादीकी उर्मिला अर्यालले उम्मेदवारी दिनुभएको छ ।

एमालेबाट अल्पसंख्यकतर्फ पर्साका उसमान अन्सारी र महिलातर्फ रौतहटकी बिना साहले मनोनयन दर्ता गराउनुभयो । लोसपाले महोत्तरीकी रुपा यादवलाई उम्मेदवार बनाएको हो ।

वाग्मती प्रदेशमा २ सिटका लागि सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा एकीकृत समाजवादीबाट गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराउनुभयो । एमालेबाट निरकुमारी दर्लामी कुँवर र गोपाल शाक्यको उम्मेदवारी परेको छ ।
नेमकिपाबाट गिता काफ्ले र कृष्ण तामाङले मनोनयन दर्ता गराउनुभयो ।

गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवार स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो । गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले उम्मेदवारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो । लुम्बिनीमा महिला, दलित र अन्य समुदाय गरी तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ ।

यस्तै एमालेबाट खुल्लातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती खनाल र दलिततर्फ गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

कर्णालीमा गठबन्धनबाट एकीकृत समाजवादीका उदय बोहोरा, महिलातर्फ कांग्रेसका दुर्गा गुरुङ र अपाङ्गता कोटामा माओवादीका रणवहादुर बिष्टले उम्मेदवारी दिनुभएको छ । यस्तै, एमालेबाट सुर्खेतका चुणामणी शर्मा, महिलातर्फ जुम्लाका गंगा महत र अल्पसंख्यकमा दैलेखका पदमवहादुर माझीले मनोनयन दर्ता गराउनुभएको छ ।

सुदूरपश्चिममा एमालेबाट डिल्लीराज भट्ट, महिलामा सन्तोष शर्मा र दलित कोटाबाट नरेश विकले मनोनयन दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका नारायण मिश्र, एकीकृत समाजवादीबाट मदनकुमारी शाह गरिमा र माओवादीबाट जगत पार्कीले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *