उखु किसानको बक्यौता भुक्तानी नदिए माइतीघरमा अनसन बस्ने चेतावनी
२० पुस २०७८ काठमाडौं । बारम्बारको ताकेताका बावजुद उखु किसानको बक्यौता भुक्तानी नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । उनीहरुले तत्काल रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गरेका छन ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारले तत्काल उखु किसानको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिनुभयो ।
उखु किसानहरुले पटक–पटक आन्दोलन गर्दा पनि भुक्तानी नपाएको भन्दै अब आफैं आमरण अनसनमा बसेर भुक्तानी दिलाई छाड्ने सांसद मोदीले बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले किसानले फेरि आन्दोलन गर्नु नपर्ने गरी समस्या समाधान गरिनुपर्ने बताउनुभयो ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले आफ्नो मन्त्रालयले उखु किसानहरुको भुक्तानीका लागि प्रयास गरिरहेको बताउनुभयो । विगतमा करिव १ अर्व ७० करोड बक्यौता रकम रहेकोमा मन्त्रालयको पहलबाट करिव ८ करोडमा झारेको उहाँको दाबी छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उद्योगहरुको दायित्वमा रहेको उखु किसानलाई दिने भुक्तानी सरकारले दिन नमिल्ने बताउनु भयो ।
अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुस्करले उखु किसानको समस्या समाधानका लागि आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।
उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै बर्षैपिच्छे आन्दोलन गर्दै आएपनि किसानले बाँकी रकम पाउन सकेका छैनन् ।
प्रतिक्रिया