Main News

राष्ट्रियसभा निर्वाचनमा मनोनयन, कसले कहाँ उम्मेदवारी दिए ?

हिमालय टिभी
२०७८ पुष २० गते १५:११
राष्ट्रियसभा निर्वाचनमा मनोनयन, कसले कहाँ उम्मेदवारी दिए ?

२० पुस २०७८ काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका विभिन्न दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउने आज दिउँसो ३ बजेसम्मको समयसीमासम्म पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । प्रदेश १ मा पाँच दलीय गठबन्धनमा कांग्रेसबाट झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका–अल्पसंख्यकतर्फको कोटाबाट जनता समाजवादी पार्टीका हेमराज थुलुङ राईले मनोनयन दर्ता गर्नुभएको हो ।

यस्तै एमालेबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक वा अपाङ्ग कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिनुभएको छ ।

सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादीले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ । यस्तै, नेकपा एमालेले अन्य समूहतर्फ धनुषाका असर्फी भिनबार यादव र महिला समूहतर्फ रौतहटकी बिना साहलाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सांसद छन् । नेपाली कांग्रेसको १९ सांसद हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ सांसद छन् । नेकपा एकीकृत समाजवादीका १३ सांसद यो प्रदेशमा छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८–८ जना सांसद हुँदा नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि रिक्त रहेको बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज हेटौँडा–५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेस र नेकपा (समाजवादी)का एक÷एक जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलामा नेकपा समाजवादीबाट गोमा तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी (नेकपा एमाले)को तर्फबाट गोपाल शाक्य र निरकुमारी कुँवर (निरु दर्लामी)लाई राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

उक्त मनोनयनदर्तापछि अब राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसैगरी, नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता गरेको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोर्साइले जानकारी दिनुभयो । तामाङ यसअघि भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पनि उम्मेदवार रहनुभएको थियो ।

भोलि २१ गते उम्मेदवारीमा दाबी विरोधको उजूरी दिने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै २२ र २३ गते उजूरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको बताइएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने पनि निर्वाचन कार्यालयले जनाएको छ । आगामी माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ । मतदानका लागि हेटौँडा उपमहानगरपालिका–८ मा रहेको हेटौँडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदानस्थल तोकिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र प्रदेशसभा सदस्य मतदाता रहनेछन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता रहेका छन् । कूल ११९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कूल २३८ जनामध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जनामात्र मतदाता कायम भएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

त्यस्तै प्रदेशसभाका कूल ११० जना सदस्यमध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेशसभाका १०९ जना सदस्य मतदाता कायम रहेको कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ ।

जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको पाँच हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको चार हजार २६६ मतभार रहेको छ । जसअनुसार बागमती प्रदेशमा कूल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवार स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएको एमाले प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले उम्मेदवारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो । लुम्बिनीमा महिला, दलित र अन्य समुदाय गरी तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । यस्तै एमालेबाट खुल्लातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती खनाल र दलिततर्फ गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

कर्णालीमा गठबन्धनबाट एकीकृत समाजवादीबाट उदय बोहोरा, महिलातर्फ कांग्रेसबाट दुर्गा गुरुङ र अपाङ्गता कोटाबाट माओवादीका नरवहादुर विष्टले उम्मेदवारी दिनुभएको छ । यस्तै, एमालेबाट सुर्खेतका चुणामणि शर्मा, महिलातर्फ जुम्लाका गंगा महत र अल्पसंख्यकमा दैलेखका पदमबहादुर माझीले मनोनयन दर्ता गराउनुभएको छ ।

सुदूरपश्चिममा एमालेबाट डिल्लीराज भट्ट, महिलामा सन्तोष शर्मा र दलित कोटाबाट नरेश विकले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै, सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका नारायण मिश्र, एकीकृत समाजवादीबाट मदनकुमारी शाह गरिमा र माओवादीबाट जगत पार्कीले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *