Main News

पिर्के सलामी : हिजो विरोध गर्ने आजै आफैँ विरोधको शिकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २० गते ८:४०
पिर्के सलामी : हिजो विरोध गर्ने आजै आफैँ विरोधको शिकार (भिडियो रिपोर्टसहित)

२० पुस २०७८ काठमाडौं । जनप्रतिनिधिहरुले थाप्ने पिर्के सलामीको विरोध भइरहँदा सहरी विकास मन्त्री रामकुमारी झाँक्री पनि पिर्के सलामीका कारण विवादित बन्नु भएको छ । जनप्रतिनिधिहरुले आफूलाई स्थायी शासक जस्तो ठान्ने र नागरिकको भन्दा उपल्लो दर्जा करार गर्ने गरी पिर्कामा उभिएर सलामी थाप्ने प्रवृत्तिबाट मन्त्री झाँक्री पनि अछुतो रहनु भएन ।

स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनसँगै मुलुकमा पिर्के सलामीका तस्वीरहरु लगातार सामाजिक सञ्जालमा छाइरहेका छन् । पञ्चायती व्यवस्थाका अञ्चलाधीश जस्तो गरी स्थानीय सरकारका प्रमुखहरुले देखाएको पिर्के सलामी मोहको सर्वत्र आलोचना भइरहँदा पनि यो क्रम रोकिएको छैन ।

कसैले पिर्कामा, कसैले कुर्सीमा त कसैले टेबुलमै चढेर सलामी खाइरहेका छन् । पालिका प्रमुखले नै सलामी खाइरहने देशमा प्रदेश र संघका सांसद वा मन्त्रीहरुले सलामी नखाने कुरै भएन । जनताको काम गर्ने भन्दै भोट मागेकाहरु आफूलाई जनताको प्रतिनिधिभन्दा पनि वंशीय शासक नै ठान्ने प्रवृत्तिले पिर्के सलामीले निरन्तरता पाइरह्यो ।

मतदाता वा आम नागरिकभन्दा आफ्नो दर्जा फरक हो भन्ने जनाउने गरी काठका पिर्का र त्यसमाथिको रातो टालोमा उभिएर सलामी फर्काउनेहरुको संख्या छ्याप्छ्याप्ती छ । अमुक परिवार वा अमुक व्यक्तिबाट शासित नहुने भन्दै नागरिकले पटकपटक विद्रोह गरेर स्थापना गरेको प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रमा पनि आफूलाई छोटे राजाको रुपमा हेर्ने मनोदशाले पिर्के सलामीको प्रचलन कायमै राखियो ।

गणतन्त्र स्थापनाअघि बरु यस्ता पिर्के सलामीहरु कमै देखिन्थे । गणतन्त्रले गाँउगाउँ र टोलटोलमा सरकार पु¥याएपछि मतदाताहरु पिर्का बोकेर सरकारको चरणकमलमा सलामी ठोक्न उद्धत छन् । विद्यालयहरुमा पुगेर विद्यार्थीको सलामी थाप्नेदेखि सुरक्षा बलका कार्यालयमै पुगेर राइफलकै सलामी खानेहरुको संख्या बढ्दो छ ।

यही मेसोमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पिर्के सलामी थापेको तस्बिर यतिबेला सामाजिक सञ्जालहरुमा आलोचनाको केक बनेको छ । विगतमा आँफैले यस्तो प्रवृत्तिको विरोध गर्ने गरेकी झाँक्रीले आफू पदमा पुगेपछि मन थाम्न नसकेको कुराले आलोचनाको पारो झन बढाएको छ ।

दुई वर्षअघि मात्रै एक तस्बिरसहित पिर्के सलामीको विरोध गरेको रामकुमारी झाँक्रीको तस्बिर यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले निकै उधिनिरहका छन् । मुलुकमा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा विद्यार्थीको नेतृत्व गरेको, तत्कालीन नेकपामा अध्यक्ष केपी ओलीले गरेको मनोमानीविरुद्धको अभियानदेखि पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठबन्धन गठनसम्मको काममा स्याबासी पाएकी झाँक्री अहिले पिर्के सलामीकै कारणले आलोचित हुनुपर्यो ।

गणतन्त्रको मर्म नै सबै नागरिक समान हुनु हो । कसैले कसैमाथि शासन गर्ने नभई नागरिकले आफ्ना प्रतिनिधि चुनेर उनीहरुलाई आफ्नो नेतृत्व गर्ने अधिकार दिनु हो । जनताका आवाज बोल्ने, समस्याहरु समाधानमा नेतृत्व लिने र पुनः नयाँ म्यान्डेडका लागि चुनावमा जाने प्रणाली हो । यो प्रणालीमा कोही स्थायी शासक हुँदैन । मतदाताले रुचाएको व्यक्ति चुनावी प्रक्रियाबाट पुनः अनुमोदित त हुन सक्ला तर उसले जनतालाई रैतीको व्यवहार गर्न खोज्यो भने तिनै मतदाताले उसको अधिकार खोस्न सक्छन् ।

अर्कोतर्फ मतदातास्तरबाट सम्मानित हुनु जनप्रतिनिधिको वयक्तिक अधिकार पनि हो । तर सबै कुराको हद हुन्छ र त्यो आम रुपमा पाच्य हुनुपर्छ । सयौँ किलोको माला लगाउनेदेखि पिर्के सलामी खाने हदसम्म जाँदा मुल रुपमा यी सम्मानहरुको लायक छु कि छैन, वा यसरी सम्मान किन गर्नुपरेको हो भन्नेसम्मको हेक्का नराख्ने कस्ता जनप्रतिनिधि ? गरिब मतदाताले तिरेको करबाटा करोडौँको गाडी चढ्ने अनि तीनै मतदाता अगाडि आफूलाई प्रतापी देखाउन सलामीको सहारा लिने प्रवृत्ति नहट्दा मतदाताहरुले नै भरिएका सामाजिक सञ्जालहरुबाट आलोचनाका वाणहरु प्रहार हुनु स्वभाविक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *