राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता आज
![राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता आज](https://www.himalayatv.com/wp-content/uploads/2021/05/nirbachan-ayog.jpg)
२० पुस २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्यमा रिक्त हुने १९ सिटको उम्मेदवारी मनोनयन आज हुँदैछ ।
आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिनुभयो। निर्वाचनमा १२ राजनीतिक दलले भाग लिँदैछन् ।
आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ। आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ।
सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ।
निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहनेछन्। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।
प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्य प्रत्येकको दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया