प्रदेश १ सरकार स्थायी संरचना कहिले निर्माण गर्ने ? (भिडियो रिपोर्टसहित)

१८ पुस २०७८ विराटनगर । प्रदेश १ सरकार गठन भएको चार वर्षसम्म प्रदेशको स्थायी संरचना निर्माणको पहल गर्नुको सट्टा आफ्ना सेवा सुविधामा नै बढी केन्द्रीत बनेको छ ।
मुख्यमन्त्रीको कार्यालयदेखि मन्त्रालयसम्म संघ सरकारबाट प्राप्त सरकारी कार्यालयमार्फत प्रशासनिक कार्य सम्पादन हुँदै आएको छ । यहाँसम्म कि, स्थायी संरचनाकै अभावमा प्रदेश सरकारले वार्षिक ठुलो रकम घर भाडाबापत खर्चँदै आएको छ।
प्रदेश एक सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सातवटा मन्त्रालय रहेका सबै संरचना अहिले पनि संघ सरकारका नाममा छन् । यी संरचना प्रदेशको नाममा अभिलेखीकरण छैनन् । दलीय भागबण्डा मिलाउन हाल कायम सात मन्त्रालय फुटाएर ११ पुर्याउने प्रदेश सरकारको तयारी छ । थपिने क्रममा रहेका संरचना पनि संघ सरकारकै भवनमा राख्नुपर्ने बाध्यता छ ।
प्रदेश सरकार आफ्नो स्थायी संरचना निर्माणमा केन्द्रित नहुँदा प्रदेश सरकार स्थायी संरचनाविहीन अवस्थामा छ । आफ्नो स्थायी संरचना नहुँदा संघ सरकारको अधिनमा रहेका भवनबाटै प्रदेश सरकारको प्रशासनिक कार्य सञ्चालन हुँदै आएको छ। विराटनगरका पुराना भवनलाई टालटुल गरेर प्रदेश सरकारका कार्यालय राखिएका छन् ।
विराटनगर बाहिर प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि मोरङ र सुनसरीलाई समेटेर प्रदेश १ सरकारले बृहत विराट क्षेत्रको अवधारणा ल्याएको थियो । तर सरकारले यो बीचमा जग्गा प्राप्तिसँगै स्थायी संरचना निर्माणको कामलाई बेवास्ता गर्दा बृहत विराट क्षेत्रको अवधारणा नै गुमनाम हुन पुगेको छ ।
संघको मातहतमा रहेका भवनहरुसँगै नयाँ संरचना निर्माणमा प्रदेश सरकारले बल्ल ध्यान केन्द्रीत गर्ने योजना बनाएको छ । संघको कुनै भवन लिनुपर्ने भए पनि त्यसलाई टुंगो गरेर भवन हस्तान्तरणको प्रक्रिया थाल्ने गृहकार्यमा सरकार जुटेको छ ।
सामाजिक, आर्थिक, राजनीतिक र संरचनागत आधारमा प्रदेशलाई बलियो बनाउने काममा चार वर्ष हेर्दा राजनीतिक रूपमा मात्रै केही काम भएको भए पनि सरकारले यो बीचको अवधिमा प्रादेशिक संरचनालाई दह्रो बनाउने काममा चुकेको राजनीतिक विश्लेषकको ठम्याइ छ ।
प्रदेश १ सरकारले कार्यालय र गोदाम घर भाडाबापत मात्रै वार्षिक साढे ४ करोड रुपैयाँ खर्च गर्दै आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् लगायत सात वटा मन्त्रालय संघ सरकार मातहतका भवनमा रहेकाले ती भवनको भाडाबापतको रकम भने सरकारले भुक्तानी गर्ने गरेको छैन ।
प्रतिक्रिया