राजनीति

चुनावसम्म गठबन्धनको रटानः तालमेलको आवश्यकता कस्लाई बढी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १८ गते १९:५०
चुनावसम्म गठबन्धनको रटानः तालमेलको आवश्यकता कस्लाई बढी ? (भिडियो रिपोर्टसहित)

१८ पुस २०७८ काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध केही दलले आगामी चुनावसम्म सहकार्य गर्ने बताउँदै आएका छन् । तर, गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र एक्लै चुनावमा जाने पक्ष बलियो बन्दै गएको छ ।

कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुसम्म चुनावी तालमेलप्रति उदासिन छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरु भने तीनै तहको चुनावमा तालमेल गर्नुपर्ने पक्षमा छन् । यसले चुनावमा गठबन्धन गरेर जानुपर्ने आवश्यकता कस्का लागि बढी भन्ने प्रश्न पनि उठेको छ ।

राष्ट्रियसभाको चुनावपछि वैशाखमा स्थानीय तहको चुनाव हुने करिब–करिब निश्चित छ । निर्वाचन आयोगले चुनावको तयारी तीव्र पारिरहेका बेला सत्ता गठबन्धनमा पनि चुनावी तालमेलको बहस बाक्लिन थालेको छ ।

तत्कालीन सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको थियो । गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आवद्ध छन् ।

ओली सरकार विस्थापनका लागि बनेको गठबन्धन आगामी निर्वाचनसम्म रहने गठबन्धनका कतिपय नेताहरुले बताउँदै आएका छन् । खासगरी गठबन्धनमा आवद्ध दलमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका संयोजक डाक्टर बाबुराम भट्टराईले तीनै तहको निर्वाचनसम्म गठबन्धन रहने सार्वजनिक अभिव्यक्ति दिँदै आउनु भएको छ । तर गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस स्वयंले भने तालमेल गर्न रुची देखाएको छैन । एक्लै निर्वाचनमा जाने कांग्रेसका नेताहरुले बताउने गरेका छन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले त नेपाली कांग्रेस बहुदलीय संसदीय प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले गठबन्धन बनाएर निर्वाचनमा नजाने संकेत गर्नुभयो ।

निर्वाचनका लागि नभएर सरकार सञ्चालन र संविधान रक्षाका लागि गठबन्धन बनेको उपसभापति गुरुङको तर्क छ । सरकार सञ्चालनमा गठबन्धन भएको र निर्वाचन गर्ने कुरामा पनि गठबन्धन हुन्छ तर निर्वाचनमा दल आफ्नो घोषणा पत्र, नीति कार्यक्रम लिएर एक्लै जनतामाझ जानुपर्ने गुरुङको मत छ ।

उपसभापति गुरुङले भने जस्तै नेपाली कांग्रेसका लागि गठबन्धन त्यति आवश्यक देखिँदैन् । किनकी नेकपा विभाजन भएर तीन टुक्रा बनेको अवस्थामा त्यसको सोझो फाइदा कांग्रेसलाई नै पुग्छ । त्यसैले एक्लै निर्वाचनमा होमिँदा पनि आफ्नो बहुमत पुग्ने आत्मविश्वास कांग्रेसमा देखिन्छ । तर त्यसविपरीत माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीमा भने पार्टी विभाजनको कारण निर्वाचनमा पराजित हुने भय देखिन्छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी जस्तै जनता समाजवादी पार्टी पनि विभाजनको शिकार भएको थियो । जनता समाजवादी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भैसकेको छ । यसैले पनि जनता समाजवादीमा एक्लै निर्वाचनमा जाने आँट देखिँदैन । सोही कारण गठबन्धनमा आवद्ध तीन दलले निर्वाचनसम्मै सहकार्य चाहेको देखिन्छ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्वाचनमा एक्लाएक्लै गएर देखाउन चुनौति दिँदा झन भय थपिएको हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्