Main News

माओवादी केन्द्रको नयाँ नेतृत्व आज चयन गरिँदै

हिमालय टिभी
२०७८ पुष १८ गते ७:५६
माओवादी केन्द्रको नयाँ नेतृत्व आज चयन गरिँदै

१८ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व आज चुनिँदैछ ।

हिजै नयाँ नेतृत्व चयन गर्दै समापन हुने भनिएको आठौं राष्ट्रिय महाधिवेशन सहमति हुन नसकेपछि आजसम्म लम्बिएको हो । भरसक सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयत्नमा रहनुभएका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले आज पनि सहमति नभए निर्वाचनबाट केन्द्रीय समिति चयन गर्ने बताउनुभएको छ ।

आज दिउँसो १ बजेसम्म सहमति नभए महाधिवेशन निर्वाचनतिर लम्किने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो । माओवादी केन्द्रको अध्यक्षमा सर्वसम्मतिमा प्रचण्ड हुँदा अन्य पदाधिकारी र केन्द्रीय सदस्य लगायतका पदमा भने निर्वाचन हुने देखिएको छ।

महाधिवेशनको पारित विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय सदस्य केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ ।

यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा १५ प्रतिशत पुर्‍याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको कोटा बनाइएको छ ।

केन्द्रीय कमिटीमा सबै कोटा र खुलाबाट गरी ३५ प्रतिशत महिला अनि २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ । माओवादी महाधिवेशनम १ हजार ७ सय ४२ प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *