Main News

के राप्रपाले बोक्दै आएको राजसंस्था र हिन्दू धर्मको पक्षमा उभिन सक्छ विवेकशील ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १७ गते २०:३०
के राप्रपाले बोक्दै आएको राजसंस्था र हिन्दू धर्मको पक्षमा उभिन सक्छ विवेकशील ? (भिडियो रिपोर्टसहित)

१७ पुस २०७८ काठमाडौं । वैकल्पिक शक्तिका रुपमा आफूलाई स्थापित गर्न खोजेको रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकताबारे छलफल थालेको छ । नयाँ शक्तिका रुपमा आफूलाई उभ्याउन खोजेको विवेकशील साझा, के राप्रपाले बोक्दै आएको राजसंस्था र हिन्दू धर्मको पक्षमा उभिन सक्छ ?

शुक्रबार बिहान विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा राप्रपाका अध्यक्ष तथा महामन्त्रीसँग देशको भविष्यबारे आशाजनक संवाद भएको उल्लेख गर्दै फोटो पोष्ट गर्नुभएको थियो । यो फोटो सार्वजनिक हुने वित्तिकै विवेकशील साझा र राप्रपाबीच एकताको प्रयास शुरु भएको भन्दै राजनीति तरंगित बन्यो ।

किन पनि यो तरंगित बन्यो भने केही समय अघि मिश्रले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा संघीयता खारेज गर्नुपर्ने र धर्मबारे जनमत संग्रहमा जानुपर्ने उल्लेख गर्नुभएको थियो । यो दस्तावेजपछि विवेकशील साझाबाट मिलन पाण्डे, रञ्जु दर्शनासहितका नेताहरु असहमति राख्दै अलगिएका थिए । कतिपयले त मिश्र नेतृत्वको पार्टी राप्रपाको मुद्दामा पुगेको बताउँन थालेका थिए ।

अहिले राप्रपाले आफ्नो विचारसँग मिश्र नेतृत्वको विवेकशील साझाको विचार मिल्ने दाबी गर्दै पार्टी एकताको प्रस्ताव नै गर्यो । प्रस्ताव गर्न अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणा मिश्र निवास नै पुग्नुभएको थियो । राजसंस्था र हिन्दू धर्मको परम्परावादी सोच बोकेको राप्रपा र नयाँ विचारको वकालत गर्ने भन्दै आएको विवेकशील साझा मिल्ने सम्भावना छ त ? विवेकशील साझाका प्रवक्ता शरद पाठकले राप्रपा उदार भए एकताको सम्भावना रहने बताउनुभएको छ ।

तर, मिश्रसँग अलगिएका पाण्डे र दर्शनासहितका नेता जस्तै राजा नै बोक्नुपर्छ भन्ने जमात विवेकशील साझामा कम छन् । मिश्र भने राजसंस्थाप्रति उदार देखिँदै आउनुभएको छ । पार्टीभित्र जतिसुकै मतभेद रहेपनि मिश्रको राजसंस्था र हिन्दू धर्ममा देखिएको उदारताले दुबै पार्टी नजिक नल्याउला भन्न सकिन्न । वैचारिक समानता जुट्दै गए एकता सम्भव हुने विवेकशील साझाका नेताहरु बताउँछन् ।

विवेकशील साझाको नयाँ मुद्दाका रुपमा राजसंस्था र हिन्दू धर्म स्थापित भए उसले सुरु गरेको नयाँ सोच पुनः पश्चगामी नै बन्नेछ । यस्तो अवस्थामा विवेकशील साझाको अस्तित्वमा प्रश्न उठ्नु अस्वभाविक हुदैन । पश्चगामीको आरोप लाग्ने भएपछि विवेकशील साझाले राप्रपा पनि उदार बन्नुपर्छ भनेको छ, तर कुन मुद्दामा उदार बन्ने भन्ने प्रष्ट छैन ।

मूल मुद्दा राजसंस्था बोकेको राप्रपाले यो मुद्दा छाड्दैन । त्यसो हुँदा कि विवेकशील साझाले राजसंस्था समात्नुपर्छ । यी त वैचारिक पाटो भए । ति बाहेक एकीकृत पार्टीको नाम, चुनाव चिन्ह, शक्ति सन्तुलन लगायत धेरै विषयमा समझदारी बन्न सक्नुपर्छ । यही प्राविधिक पाटोमा उदार बन्नुपर्छ भनेको पनि हुनसक्छ ।

वैकल्पिक शक्तिका रुपमा आफूलाई स्थापित गर्न खोजेको विवकेशील साझाले गत निर्वाचनमा राम्रै मत ल्याएको थियो । तर, यदी उ राप्रपाको विचार बोक्न पुगे जनसमर्थन पाउन सक्छ भन्ने एकीन छैन । वैचारिक मतभेद बढाउँदै पार्टी पटक–पटक विभाजित बनेको विवेकशील साझाका लागि आगामी दिनमा संकटमा नफस्ला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *