देशका धेरै ठाउँमा वर्षा र हिमपात, ह्वात्तै बढ्यो चिसो

१४ पुस २०७८ काठमाडौं । देशका विभिन्न ठाउँमा वर्षा र हिमपात भएसँगै चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले हिजोदेखि नै देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले यो प्रणाली पश्चिमबाट पूर्वतिर सर्ने क्रममा रहेकाले पानी पर्ने क्रम बढेको जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभर नै देशका धेरै ठाउँमा पानी र हिउँ पर्दै रोकिने छ ।
भोलिदेखि भने पानी र हिउँ पर्ने क्रम कम हुँदै जाने उहाँको भनाइ छ । तर मौसम पूर्ण रुपमा भने नखुल्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यस्तै राति पनि धेरै ठाउँमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षा र हिमपात हुने भएकाले यात्रा र हिमाल आरोहणमा नजान मौसमविद् नगरकोटीले सुझाव दिनुभयो । दिउँसो पनि मौसम बदली भएपछि देशभर तापक्रम पनि घटेकाले चिसो बढेको हो ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री र अधिकतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै जोमसोमको न्यूनतम तापक्रम माइनस १ दशमलव २ डिग्री र अधिकतम तापक्रम ७ डिग्री सेल्सियस, लुम्लेको न्यूनतम तापक्रम २ डिग्री र अधिकतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया