Main News

उपत्यकासहित देशभर वर्षा, भोलिदेखि मात्रै मौसममा क्रमिक सुधार आउने

हिमालय टिभी
२०७८ पुष १४ गते ७:४७
उपत्यकासहित देशभर वर्षा, भोलिदेखि मात्रै मौसममा क्रमिक सुधार आउने

१४ पुस २०७८ काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको असरले गएरातिदेखि मुलुकभर वर्षा भएको छ ।

पश्चिमी क्षेत्रबाट आइतबार नेपाल भित्रिएको सो प्रणालीले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा अधिकांश स्थानमा वर्षा भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मनाङमा २७ दशमलव ५ मिलिमिटर बराबरको हिमपात भएको छ । यस्तै बाजुरामा १६ दशमलव २ मिलिमिटर वर्षा भएको छ ।

यस्तै गोरखामा १५ मिलिमिटर वर्षा हुँदा काठमाडौँ उपत्यकामा ३ दशमलव २ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको चन्द्रागिरिलगायतका क्षेत्रमा हिमपात पनि शुरू भएको बताइएको छ ।

पूर्वमा सबैभन्दा धेरै सोलुखुम्बुमा वर्षा भएको छ । सोलुखुम्बुमा १५ दशमलव ६ मिलिमिटर तथा संखुवासभामा ९ दशमलव ८ मिलिमिटर वर्षा भएको नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभर नै अधिकांश स्थानमा वर्षा हुनेछ ।

भोलिदेखि मात्रै क्रमिक रूपमा वर्षा कम हुने उहाँले बताउनुभयो । महाशाखाले वर्षा र हिमपातका कारण चिसो बढेको तथा अब तराई भेगमा बाक्लो हुस्सु तथा शितलहरसमेत शुरू हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *