राजनीति

पश्चगामी प्रचण्डपथ किन सम्झिरहन्छन् माओवादी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १३ गते २०:४६
पश्चगामी प्रचण्डपथ किन सम्झिरहन्छन् माओवादी ? (भिडियो रिपोर्टसहित)

१३ पुस २०७८ काठमाडौं । नेकपा माओवादीको सशस्त्र आन्दोलन उत्कर्षमा पुग्दै गर्दा माओवादीभित्र प्रचण्डपथको जन्म भयो । ०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको दोस्रो राष्ट्रिय सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवाद, लेनिनवाद र माओवादसँगै प्रचण्डपथलाई पार्टीको पथप्रदर्शक सिद्धान्तका रुपमा अघि सार्नुभयो । ८औं महाधिवेशनमा पनि प्रचण्डको दस्तावेजमा प्रचण्डपथबारे उल्लेख छ । आखिर के थियो त प्रचण्डपथ ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै बहस र छलफल नगरी प्रचण्डपथ छाड्नु गलत रहेको निष्कर्ष निकाल्नुभएको छ । ८ औं महाधिवेशनमा उहाँले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डपथको चर्चा गर्नुभएको हो । ‘पुनः प्रचण्डपथ स्थापित गर्नुपर्ने हो कि भन्ने तर्क उठेको देखिन्छ । अब त्यसरी सोच्नु विल्कुल पश्चगामी सोच हुन पुग्छ’ प्रचण्ड आफैले लेख्नुभएको छ । माओवादी महाधिवेशनका क्रममा पुनः सतहमा आएको प्रचण्डपथ आखिर के थियो ?

माओवादीको ०५७ सालमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले पार्टीको पथप्रदर्शक विचारका रुपमा माक्सवाद, लेनिनवाद माओवाद सँगसँगै प्रचण्डपथ पारित गरेपछि ८ वर्षसम्म सोही अनुसार वैचारिक, राजनीतिक, साँगठनिक र फौजी कारवाही सञ्चालन गरेको थियो ।

०६३ सालमा शान्तिप्रक्रियामा आएपछि पनि माओवादीले प्रचण्डपथ छोडेन । ०६५ मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरको खरिपाटीमा भएको राष्ट्रिय भेलामा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि प्रचण्डपथ उल्लेख थियो । त्यतिबेला प्रचण्डको प्रतिवेदनमा मोहन वैद्य किरणले फरक मतसहित अलग्गै प्रतिवेदन पेश गर्नुभयो र पार्टीको पथप्रदर्शक सिद्धान्तका रुपमा प्रचण्डपथ राख्न नहुने बहस उठेको थियो ।

त्यसको एक महिनापछि अर्थात ०६५ पुस ३० गते नारायकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँग एकता अधिवेशनमा प्रचण्डले लिखित रुपमै तत्कालका लागि प्रचण्डपथलाई पार्टीको पथप्रदर्शक सिद्धान्तका रुपमा स्थगित गर्ने प्रस्ताव राख्नुभएको थियो । प्रचण्ड आफैले स्थगित गरेको प्रचण्डपथ ८औं महाधिवेशनका क्रममा केही माओवादी नेताहरुले स्मरण गरेका छन्। मााअ‍ेवादी आन्दोलनलाई नजिकबाट नियालेका विश्लेषक पिटर अहिले प्रचण्डपथको सान्दर्भिकता सकिएको र त्यसको नाम लिनु नेतृत्वसँग नजिक हुन खोज्नु मात्र भएको टिप्पणी गर्नुहुन्छ ।

युद्धकालकै बेलामा पनि माओवादीभित्र विवादित बनेको प्रचण्डपथ प्रचण्ड स्वयंले स्थगित गरेको १३ वर्षपछि सम्झनु इतिहाको स्मरण त हुन सक्छ तर, भविष्यका लागि भने प्रचण्ड स्वयंले भनिसक्नुभएको छ, प्रचण्डपथ सोच्नु पनि पश्चगामी हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्