प्रशासनद्वारा सिरहामा भोलिसम्मका लागि निषेधाज्ञा जारी
१३ पुस २०७८ सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले आज र भोलि निषेधाज्ञा जारी गरेको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आमहड्तालले सर्वसाधारण जोखिममा परेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
सोमबार सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जारी गरेको निषेधाज्ञामा पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उतर दक्षिणा ५०० मिटर आसपासका क्षेत्रसम्म निषेध गरिएको उल्लेख छ ।
यस्तै चोहर्वादेखि सिरहा सडक खण्डको पिके–राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा आसपासको ५०० मिटर पूर्व पश्चिम क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि जारी रहनेछ । निषेधाज्ञा अवधिभर कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने भनिएको छ ।
तर, राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सञ्चालनमा रोकतोक हुनेछैन ।
प्रतिक्रिया