खाने–बस्ने व्यवस्था आफैंले गर्नुपर्ने नियमबारे के भन्छन् माओवादी प्रतिनिधि ? (भिडियो रिपोर्टसहित)

१२ पुस २०७८ काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारी गरेर अन्तमा महाधिवेशनमा पुगेको नेकपा माओवादी केन्द्रले देशभरबाट काठमाडौ आएका प्रतिनिधिहरुका लागि खाने र बस्ने व्यवस्थासमेत गरेको छैन ।
१६ सयभन्दा धेरै प्रतिनिधिले आफैले खाने र बस्ने व्यवस्था गर्नुपर्ने भएको छ । तर माओवादीका कतिपय नेताहरुले भने यो अव्यवस्थालाई खर्च घटाउन गरिएको उदाहरणीय कामसम्म भन्न भ्याएका छन् ।
आठौँ महाधिवेशनको पहिलो दिन दिउँसो नेता कार्यकर्तालाई चियापानको मात्रै व्यवस्था गरेर माओवादी केन्द्रले आफनो उद्घाटन समारोह गर्यो ।
भर्खरै ३ वटा पार्टीले धुमधामसँग महाधिवेशन सम्पन्न गरेको देखेका माओवादी कार्यकर्तालाई आफ्नो पार्टीको योस्तरको व्यवस्थापन देखेर महाधिवेशन फिक्का लाग्नु स्वभाविक हो ।
तर साँझ गएर आफै होटल खोज्नुपर्ने बाध्यतामा रहेका प्रतिनिधिहरु भने नेतृत्वको गैरजिम्वेवारीपनलाई ठूलो विषय नभएको भन्दै ढाकछोप गर्ने प्रयासमा छन् ।
महाधिवेशन भन्दैमा तडकभडक र अनावश्यक खर्च गर्न आफ्नो पार्टीसँग बजेट नभएको कतिपयको तर्क छ । हिजोको सर्वहारा वर्गको पार्टीका रुपमा परिचित पार्टी पूँजीपतिका रुपमा चल्यो भन्ने आलोचनाका कारण पनि धेरै खर्च नगरिएको हुनसक्ने प्रतिनिधिको बुझाई छ । तैपनि कतिपयलाई बासको व्यवस्था चाहिँ गरिदिएको भए हुन्थ्यो भन्ने लागेको छ ।
प्रतिनिधिका अनुसार अन्य पार्टीले जस्तो मास जम्मा गरेर आयोजना नगरेर बढीभन्दा बढी वैचारिक बहसमा आफ्नो पार्टीले ध्यान दिएकाले आवासको व्यवस्था आफै गर्न पार्टीले निर्देशन गरेको हो ।
आफ्नो पार्टीको महाधिवेशनमा मिष्ठान्न भोजनको व्यवस्थाभन्दा पनि जति सक्दो सरल बनाई यसरी पनि महाधिवेशन हुन्छ भन्ने उदाहरण दिन खोजिएको नेताहरुको तर्क छ ।
आठौँ महाधिवेशनलाई वैचारिक बहस र संगठन विस्तारमा जोड दिएको भनिरहेको माओवादी पार्टीले आर्थिक रुपले सम्पन्न पार्टी नभएकाले तडकभडक नगर्नु उचित ठानेको छ । तर महाधिवेशनका लागि टाढा टाढाबाट आएका उनै सर्वहारा प्रतिनिधिले कहाँ गएर के खाएर छाक टार्ने भन्ने सोचेको देखिएन ।
प्रतिक्रिया