देशभर चिसो बढ्ने क्रम रहेकाले सतर्कता अपनाउन आग्रह
११ पुस २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने बताएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको भन्दै सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ ।
महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसमसम्बन्धी जानकारी अनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदुरपश्चिम र कर्णाली प्रदेश का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानलगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि बताएको छ ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र तराईका भू–भागहरूममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया