Main News

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आज शुरू हुँदै

हिमालय टिभी
२०७८ पुष ११ गते ७:५०
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आज शुरू हुँदै

११ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आज शुरू हुँदैछ ।

शनिबार अपराह्नसम्म राष्ट्रिय सम्मेलन भनेको माओवादीले अन्तिम समयमा आएर राष्ट्रिय महाधिवेशन नामाकरण गरेको हो । यसलाई औपचारिकता दिन आजै बिहान ८ बजे केन्द्रीय कमिटी बैठक डाकिएको छ ।

बैठकले सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गर्ने औपचारिक निर्णय गर्नेछ । यो एजेण्डालाई हिजोको स्थायी कमिटी बैठकले प्रस्तावको रूपमा केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको थियो ।

लगत्तै आज दिउँसो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुनेछ । महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

सो प्रतिवेदनमाथि बहस र छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको माओवादीले जनाएको छ । केहीलाई हलमा र केहीलाई टेन्टमा बहसको व्यवस्था गरिएको छ । ८–९ वटा छलफल पार्टी कार्यालय पेरिसडाँडामा गर्ने तयारी माओवादी केन्द्रको छ ।

महाधिवेशनबाट केन्द्रीय समिति मात्र चयन हुनेछन् । अन्य पदाधिकारी भने केन्द्रीय समितिले चयन गर्न तयारी भएको छ । यसअघि २०६९ माघमा हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने तयारी दाहालको छ।

महाधिवेशनमा नियमित प्रक्रियाबाट कूल एक हजार ४८३ जना प्रतिनिधि चयन भएका छन्। त्यसको १० प्रतिशत मनोनयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिइएको छ। दाहालले १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि संख्या एक हजार ६३१ जना पुग्नेछ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । यस्तै सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

यस्तै प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *