राजनीति

साथ छोड्नेहरुको लस्कर, अध्यक्ष प्रचण्डसामु पार्टी बलियो बनाउने चुनौति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १० गते २१:०२
साथ छोड्नेहरुको लस्कर, अध्यक्ष  प्रचण्डसामु पार्टी बलियो बनाउने चुनौति (भिडियो रिपोर्टसहित)

१० पुस २०७८ काठमाडौं । जनयुद्ध शुरु भएदेखि नै नेकपा माओवादीका अध्यक्ष प्रचण्डको साथ छोड्नेहरुको लस्कर लागेको छ । कतिपयले पार्टीको कार्यदिशा र कतिपयले नेतृत्वको प्रभावकारिता नरुचाएर साथ छोड्दै गएका छन् । अब भने यी दुृवै चुनौतीलाई सामना गरेर पार्टी बलियो बनाउने चुनौती अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामू खडा भएको छ ।

पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएपछि माओवादीका झण्डै आधा दर्जन प्रभावशाली नेता एमालेमा विलय भए । रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरु ओलीकै साथमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रमा बस्न नसकेको वा प्रचण्डलाई अध्यक्ष मान्न नसकेको भन्दा बलियो कारण थियो केपी शर्मा ओलीसँग रहँदा मन्त्री पद पाइरहनु । तर त्यतिबेला पनि प्रचण्डको साथ छोडेर जानेहरुले प्रचण्डले माओवादीलाई दिशाहीन बनाएको, जनयुद्धको ब्याज खाइरहेको वा, जनयुद्धको मर्मविपरीत अघि बढ्न खोजेको आरोप लगाएका थिए ।

ओली सरकारको मन्त्री पदमा रहँदा प्रभु साहले त देश नै प्रचण्डमुक्त बनाउनुपर्छ समेत भन्न भ्याउनु भयो । कतिपय ठाउँमा पुगेर उहाँले प्रचण्डको साथ किन गरिएछ भन्ने ग्लानी भइरहेको पनि बताउनुभयो ।

जे होस् माओवादी छोड्नेहरुले प्रचण्डको नेतृत्व सफल हुन नसकेको वा उहाँको नेतृत्वमा पार्टी सफल हुन नसक्ने आरोप लगाउनु स्वभाविकै हो । ठूलै भाग खान गए पनि छोड्ने कारण त केही न केही देखाउनै प¥यो । तर भाग खान जानेहरुबाहेक पनि प्रचण्डलाई छोड्नेको संख्या ठूलो छ ।

जनयुद्धको कार्यदिशा तय गर्न २०५१ साल फागुनमा बसेको तेस्रो विस्तारित बैठकयता नेकपा माओवादीका कयौँ प्रभावशाली नेताहरुले प्रचण्डको साथ छोडिसकेका छन् । एकता केन्द्र वा संयुक्त जनमोर्चा हुँदै प्रचण्डको नेतृत्वमै बनेको नेकपा माओवादी पार्टीसम्म आइपुग्दा पार्टीको कार्यदिशा मन नपराएर वा प्रचण्डको नेतृत्व स्वीकार गर्न नसकेर थुप्रै सहयात्रीहरुले बाटो मोडेका छन् ।

नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय गरेर माओवादी सशस्त्र युद्धमा होमिएपछि केही वर्ष माओवादी पार्टी छोड्नु न ओकल्नु भएका नेतादेखि शान्ति प्रक्रिया शुरु हुनासाथ माओवादीसँग मिल्ने वा माओवादी छोड्नेको लहर उल्लेखनीय रह्यो । युद्धकालमा कतिपय नेताहरु प्रचण्डको साथ छोड्दा वा साथमै रहँदा दुवै खतरा हुनेसम्मका अनुभवसहित कतिपयले आफ्नो विचारहरु प्रस्तुतसमेत गरेका छन् ।

माओवादीको १० वर्ष लामो सशस्त्र युद्धपछि शान्ति प्रक्रिया शरु हुनासाथ देखिएको आकर्षण र संविधानसभाको निर्वाचनपछि शुरु भएको विकर्षणले त्यसपछिको झण्डै डेढ दशक माओवादीमा भित्रिने र बाहिरनेको संख्या ठूलै छ ।

पार्टीले सरकार संचालनमा देखाएको असक्षमता वा नेताहरुको सेटलमा भएको चित्त दुखाइदेखि हालसम्म आउँदा थुप्रै प्रभावशाली नेताहरुले प्रचण्डको साथ छोडेका छन् । मोहन वैद्य किरण, रामबहादुर थापा बादल, नेत्र विक्रम चन्द विप्लव, डा. बाबुराम भट्टराईलगायत थुप्रै नेताहरुले प्रचण्डको साथ छाडेका छन् ।

कतिपय पुनः एकीकरण गरेर माओवादीमा फर्किएका पनि छन्, तर उनीहरुले वास्तविक रुपमा प्रचण्डको नेतृत्व स्वीकार गर्न नसकेको पछिल्लो उदाहरण बादल वा मणि थापाको एमाले प्रवेशलाई लिन सकिन्छ । त्यति मात्र होइन कतिपय प्रचण्डका सहयात्रीहरु राजनीति नै छोडेर कृषिमा लागेका छन् भने कतिपय एमालेसँगको एकीकरण अस्वीकार गरेर छुट्टिएकाहरु किनारा लागेका छन् ।

यतिबेला नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको संघारमा छ । राष्ट्रिय सम्मेलन पार्टीको नयाँ मार्ग निर्देशनका साथै नेतृत्व चयनमा समेत केन्द्रित छ । गएको हेटौंडा महाधिवेशनले तय गरेको पार्टीको बहुपदीय संरचना लागू गर्न नसकेको माओवादीलाई यतिबेला बहुपदीय संरचना लागू गर्ने चुनौती त छ नै पार्टीमा वर्षौँदेखि पालो पर्खेर बसेका कयौँ नेताहरुलाई जिम्मेवारी हस्तान्तरण पनि गर्नुछ ।

हालसम्मको तयारीमा पार्टी अध्यक्षका रुपमा प्रचण्ड फेरि विराजमान भइरहँदा अरु पदहरुमा थुप्रै आकांक्षीहरुको लाम लागेको छ । यी आकांक्षीहरुलाई व्यवस्थापन गरेर पार्टीमा टिकाउने एउटा चुनौती र अर्कोतर्फ पार्टीलाई नयाँ कार्यदिशा दिएर वाम शक्तिहरुसँग प्रतिस्पर्धामा उत्रिने अर्को चुनौती प्रचण्डसामू छ । त्यो बााहेक आफ्ना समकक्षी र सहयात्रीहरुले साथ छोड्दै गएको विगत सम्झेर सबैलाई समेट्ने र पार्टीलाई बलियो बनाउने चुनौती पनि प्रचण्डसामू खडा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्