Main News

आफूलाई भोट नदिनेलाई पनि साथ लिएर पार्टी सञ्चालन गर्छुः सभापति देउवा

हिमालय टिभी
२०७८ पुष १० गते १४:४७
आफूलाई भोट नदिनेलाई पनि साथ लिएर पार्टी सञ्चालन गर्छुः सभापति देउवा

१० पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी संचालन गर्ने बताउनु भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरुको मतको कदर गर्दै पार्टीलाई अघि बढाउने बताउनु भएको हो ।

उहाँले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनुपर्ने चुनौति रहेको उल्लेख गर्दै ती चुनौतिलाई पनि सामना गरेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसका लागि पार्टीलाई निष्पक्ष ढंगले अघि बढाउने सभापति देउवाको योजना छ । त्यस अवसरमा उहाँले आगामी निर्वाचनमा विजयी गराउने गरी पार्टीलाई अघि बढाउन सबैको साथ र सहयोग हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘भोलिका दिनमा हाम्रा लागि ठूलो चुनौति पनि छ । स्थानीय निर्वाचनदेखि राष्ट्रिय निर्वाचनमा पनि पार्टीले जित्नुपर्नेछ । हाम्रो पार्टीले सबैभन्दा ठूलो पार्टी बन्नुछ । यो पार्टीले सच्चा मानेमा सम्पूर्ण नेपाललाई आत्मासात गर्दै, सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्दै यस पार्टीलाई भोलिका दिनमा जसरी तपाईहरुले मलाई विश्वास गर्नुभो । म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछु । पूर्ण रुपमा सबैको सहयोग, निष्पक्ष रुपमा सबैको सहयोग, महाधिवेशनमा भोट नहाल्नेसँग पनि मलाई मतलव छैन । म सबैको सभापति हुँ । म सबैको सभापति हुने प्रयास मात्रै होइन्, त्यही गर्नेछु । मेरो जिम्मा ठूलो छ । त्यसकारण सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, सबैको भावनाको कदर गरेर यो पार्टीलाई हाँक्न चाहन्छु । र यसमा सबैको सहयोग हुने विश्वास लिएको छु ।’

सभापति देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने गरी निर्वाचन सम्पन्न गराएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई पनि धन्यवाद दिनुभयो । उहाँले महाधिवेशनबाट निर्वाचित पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाइ पनि ज्ञापन गर्नुभयो । त्यस अवसरमा सभापति देउवाले नेपाली कांग्रेस पूर्ण प्रजातान्त्रिक पार्टी हो भन्ने कुरा पनि महाधिवेशनमा भएको निर्वाचनले पुष्टि गरिदिएको स्मरण गराउनु भयो ।

सभापति देउवाले सिंगो मुलुकको प्रतिनिधित्व हुने गरी पार्टीलाई अघि बढाउने पनि बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *