नेताहरु माला लगाउन लालायित, जनताको सपना अधुरै (भिडियो रिपोर्टसहित)

Himalaya Television
२०७८ पुष ९ गते २०:४९

नेताहरु माला लगाउन लालायित, जनताको सपना अधुरै (भिडियो रिपोर्टसहित)

९ पुस २०७८ काठमाडौं । दलका नेताहरुको घाँटीमा ठूलै माला लगाइदिएर ठूलै आश्वासन थाप्ने नागरिक प्रवृत्ति र ठूलै मालाको रंगरसमा लिप्त हुने नेतृत्व प्रवृत्ति घट्नुको सट्टा बढ्दै गएको छ । के नेताहरुले महंगा र गह्रुंगा मालाहरुको मूल्य आफ्नो व्यवहार र कर्मबाट चुक्ता गर्ने गरेका छन् त ?

सत्ता र शक्तिमा हुँदा जनताका लागि माखो मार्न नसके पनि तिनै जनताको हातबाट सयौँ किलोको माला लगाउन नेताहरुले कत्ति पनि सरम मान्दैनन् । चुनावअघि ठूलठूला सपनाको पोको बाँड्दै हात जोड्ने नेताहरु कार्यकालभरि मतदाताको घरआँगनमै पुग्दैनन् । पुगिहाले पनि विभिन्न बाहना देखाएर आफूले काम गर्न नसकेको भन्दै वर्षौँका अपेक्षालाई खिस्रिक्क पार्नु नेताहरु र मतदाताको नियति बन्दै आएको छ ।

प्रजातन्त्र स्थापनादेखि बहुदल र गणतन्त्रसम्मका यत्रा वर्ष कयौँ नेताहरुले कयौँ किलो फूल यसरी मालाकै रुपमा नष्ट गरिसकेका छन् । खै त नागरिकको जीवन परिवर्तन भएको ? नेताहरु आफ्नो प्रतिबद्धतामा दृढ भएको भए देशको मुहार उहिल्यै फेरिइसक्थ्यो । नागरिकका मुर्छित सपनाहरु साकार हुने प्रलोभनमा छाक कटाएर नेताहरुमाथि पुष्पवृष्टि गर्न सायदै अभिषप्त हुन्थे ।

आफू एकपटक भोट माग्न जाने र नागरिकलाई भने पटकपटक माग्ने बनाइरहने, विकास र समृद्धिको आश देखाइरने प्रवृत्ति नेताहरुमा छ । गरिबका झुप्रा उडाउने गरी हेलिकोप्टर चढेर सयौँ किलोका माला लगाउँदै देश चाहार्ने र फेरि पनि थोत्रा सपनाहरुको थाङ्नोमा सुताएर फर्किने क्रम अद्यापि जारी छ ।

रंगीन मालामा गुथिएका श्यामस्वेत सपनाहरुको प्रवाह कसैले गर्दैनन् । बरु पटकपटक मालामा बेरिरहने, आश्वासन दिइरहने र भोट लिइरहने गति बढाइरहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका एक स्थानीय तह प्रमुखलाई पार्टी प्रवेश गराउन हिजो मात्रै पर्सा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि १ सय ५१ किलोको माला लगाएर आफूलाई सर्वशक्तिमान भएको आत्मरति लिनुभयो ।

स्थायी सरकारको सपना देखाएर लिएको दुई तिहाई बढी जनविश्वासमा चिसो पानी खन्याएर संसदको पल्लो कुनामा पुगेका ओलीले १ सय ५१ किलोको मालामा फेरि दुई तिहाइ जनमतको सपनाको रेल कुदाउनु भयो ।

नेतालाई नागरिकले जति सम्मान गरिरहेका छन् त्यो भन्दा बढी उसको सम्मान गर्न लायक व्यवहार हुनुपर्ने हो । गरिबको छाक कटाएको पैसाले खरिद गरिएको मालामा टिलपिलाएका पसिनाका थोपाहरु देख्नुपर्ने हो । तर ओलीले मालाले घेरिएको आफूलाई आश्वासनको महारथी देख्नुभयो ।

ओली मात्र होइन धेरैजसो राजनीतिक दलका नेताहरु कयौँ किलोका मालाभित्र परेपछि आफूलाई महाराज देख्ने गरेका छन् । तर यी मूर्तिवत महाराजहरुले मालासँगै नागरिकले गरेको विकासको याचना कहिल्यै बुझ्न सकेनन् ।

यही मेसोमा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले भने २० किलोको माला अस्वीकार गरेको सकारात्मक समाचार प्रवाह भएको छ । नयाँ बाच्छो हिँड्न जान्दैन, दौडिन्छ भन्ने ओली उक्तिविपरीत आफ्नो माला बहिस्कारको अडानमा टिकिरहने हो भने लिङ्देनको कद थप उच्च बन्न सक्ला ।

मालाकै रमझममा रमाइरहेको राजनीतिक नेतृत्वको दौडमा भने आफूलाई अलग राखिरहन उहाँले पनि सक्नु हुन्छ कि हुन्न त्यो त समयले नै देखाउने छ । तर यत्ति हो क्षणिक आनन्दका लागि लगाउने मालाको अभिभारा आफूले कति पूरा गर्न सक्छु भन्ने हेक्का भने नेताहरुले पक्कै राख्नुपर्नेछ । अनि नेताहरुलाई ठूलो माला लगाएर भक्तिभजन गर्ने हनुमान प्रवृत्तिबाट माथि उठ्न नागरिकहरु आफै अग्रसर हुनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *