राजनीति

नीति बहसमा वाद र बाटोबाट विचलित माओवादी केन्द्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ८ गते ६:५३
नीति बहसमा वाद र बाटोबाट विचलित माओवादी केन्द्र (भिडियो रिपोर्टसहित)

८ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा छ । नेतृत्व परिवर्तनसहित नीति र विचारमा केन्द्रित हुने भनिएको यो सम्मेलन निकट आउँदा माओवादी आफ्नो विचार र विवेकबाट विचलित हुँदै गएको आरोपहरु लाग्न थालेका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा व्यापक जनमत प्राप्त गर्न सफल माओवादी त्यसपछिका निर्वाचनमा थप कमजोर हुँदै आएको छ भने संसदीय भासमा हराउन थालेपछि उसको वाद र बाटो पनि कमजोर भइसकेको चर्चा हुन थालेको छ ।

नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । पार्टीको नेतृत्व र नीतिमा बहसका लागि भन्दै माओवादी केन्द्रले गर्न लागेको राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त हुनुहुन्छ ।

जनवादी राज्यसत्ता स्थापनाको उद्घोषसहित २०५१ साल फागुनबाट सशस्त्र युद्ध शुरु गरेको माओवादी त्यसको २७ वर्षयता सशस्त्र युद्धदेखि संसदवादी दलहरुसँग मिलेर जनआन्दोलनको बाटो हुँदै हाल गठबन्धन सरकारमा सहभागी छ ।

सशस्त्र युद्धदेखि आफ्ना एजेण्डालाई छोड्दै र बदल्दै यहाँसम्म आइपुग्दा माओवादी ‘गाईबाट गधा’ बनिसकेको विश्लेषण हुन थालेको छ । मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा प्रचण्डपथसमेत जोडेको माओवादी प्रचण्डपथ भत्काएसँगै सबै वादहरुबाट विचलित बनेको छ । यहाँ आइपुग्दासम्म माओवादी पूँजीवादको दरबाजा अगाडि लगेर आफूलाई उभ्याउन अभिषप्त बनेको छ । तर नेताहरु भने अझैं पार्टीलाई रुपान्तरणको प्रक्रियामा लगेर पुरानै विरासतमा पुर्‍याउने सपना देखिरहेका छन् ।

नीति र नेतृत्वमा आएको विचलन र परकम्पहरुले माओवादीलाई कमजोर संगठन र खल्तीको नेतृत्वमा सीमित बनाएको छ । वर्षौँदेखि पार्टीको नेतृत्व गरे पनि विचार र वर्गको नेतृत्वमा असफल बन्दै गएका प्रचण्ड संसदीय राजनीतिको दलदलमा फस्दै जाँदा सत्ता परिवर्तनको खेलाडी बन्न त सफल हुनुभएको छ । तर, आलोचनाका तीरहरु नजरअन्दाज गर्ने प्रयासले रुपान्तरणको सपना साकार हुने सम्भावना क्षीण देखिन्छ ।

सशस्त्र युद्ध शसरु गर्दा होस् वा दलहरुसँगको सहकार्यमा गणतन्त्रका लागि गरिएको आन्दोलनका केही वर्षसम्म वर्गीय रुपान्तरणको मसिहा बनेको माओवादी सहर छिरेपछि रमझमसँगै आफ्ना मुद्दाहरुबाट कयौँ कोष टाढा पुगिसकेको छ । हिजो संसदलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’को रुपमा परिभाषित गर्दै आएको माओवादी अहिले सबैभन्दा धेरै संसदवादी पार्टीका रुपमा छ ।

संसदको अंकगणितमा फसेपछि हिजो पूँजीपति र दक्षिणपन्थी भनिएका दलहरुसँगकै साँठगाँठमा सत्ता प्राप्तिका लागि आफूलाई लालयित बनाइरहेको छ । संसदवादी दलहरु राजा–महाराजासँग वर्गीय मित्रता कायम गरेर शोषण गर्ने, मुलुकलाई अर्ध औपनिवेशिक र अर्धसामन्ती बनाउने काम गरिरहेको भन्दै माओवादीले दलहरुविरुद्ध मात्र होइन भारतविरुद्ध नै सुरुङ युद्ध गर्ने उद्घोष गरेको थियो । तर त्यही माओवादीले शान्ति प्रक्रियापछि आफूलाई संसदीय दलदलमा फसाइसकेको छ ।

पूँजीवादी क्रान्ति सफल हुन नसकेको नाममा जनवादी राज्यसत्ताको बिगुल फुकेको माओवादीका नेताहरु चरम पूँजीवादी बन्दै गएका छन् । माओवादीले बोकेका कयौँ मुद्दाहरुसहितको वर्गीय अधिनायकवादी नेतृत्व मात्र अहिले कायम छ । पार्टीको आन्तरिक लोकतन्त्रको दोहन हुने गरी भइरहेको अधिनायकवादी नेतृत्व अब परिवर्तन गर्नुपर्छ भन्ने वर्षौँदेखिका आवाजहरु बेवास्ता गर्दै आएको माओवादी बहुपदीय प्रणालीमा जान चाहिरहे पनि केन्द्रीय नेतृत्व परिवर्तनको हिम्मत गरिरहेको छैन ।

माओवादीले आफ्ना हरेक सम्मेलन र अधिवेशनमा आफूले शुरु गरेको क्रान्ति कुन हदसम्म सफल भयो भन्ने समीक्षा भने गर्ने गरेको छ । नेताहरुको पलङ फेरिएझैँ सम्मेलनसँगै फेरिने विचार र मार्गले माओवादीलाई झन दोबाटोतिर लग्दै गएको देखिन्छ ।

गएको हेटौंडा महाधिवेशनमा राजनीतिक क्रान्ति सफल भइसकेको र अब आर्थिक क्रान्ति गर्नुपर्ने निष्कर्ष निकालेको माओवादी अझै राजनीतिक क्रान्तिकै भासमा देखिन्छ । अबको सम्मेलनले नेताहरुले भन्ने गरेको रुपान्तरणको कार्यदिशा तय गर्छ या रुपान्तरणको मुद्दा भने बन्दसत्रको सूचीमा मात्रै सीमित हुन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्