राजनीति

नेपाली कांग्रेसमा सभापति देउवा नै शक्तिशाली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ८ गते ६:४३
नेपाली कांग्रेसमा सभापति देउवा नै शक्तिशाली (भिडियो रिपोर्टसहित)

७ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा केन्द्रीय समितिमा थप बलियो देखिनुभएको छ । पदाधिकारी, केन्द्रीय सदस्य र समावेशी क्लष्टरमा सबैतिर देउवा प्यानलका उमेदवार निर्वाचित भएका छन् भने मतगणना जारी रहेको ३७ सिटमा पनि देउवा पक्षकै अग्रता कायम छ ।

१३४ स्थानका लागि भएको निर्वाचनमा देउवा पक्ष ८० प्रतिशतभन्दा बढी निर्वाचित भइसकेका छन् । १३ पदाधिकारी र ८४ केन्द्रीय सदस्यसहित १३४ जनाका लागि भएको निर्वाचनको परिणाम लगभग सार्वजनिक भइसकेको छ ।

१३ पदाधिकारीमध्ये सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । उपसभापति गुरुङ र महामन्त्रीद्वय थापा, शर्मा संस्थापनइतर समूहका हुन् ।

यस्तै ८ सहमहामन्त्रीमा किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय (डिना), जीवन परिवार, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित हुनुभएको छ । जसमा परियार र पाण्डेबाहेक ६ सहमहामन्त्री देउवा समूहका हुन् ।

कोइराला प्यानलबाट उपाध्यक्ष गुरुङ, महामन्त्री थापा, सहमहामन्त्री पाण्डे र परियार निर्वाचित हुँदा यस्तै प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा शर्मा र केन्द्रीय सदस्यमा राजन केसी निर्वाचित हुनुभएको छ ।

प्यानलसहित सभापतिका प्रत्यासी बन्नुभएका विमलेन्द्र निधि निकट कोही पनि निर्वाचित हुनसक्नुभएन । ३५ खुल्लातर्फ, २१ भूगोलतर्फ, ९ महिला खुल्लातर्फ, ९ मधेसी खुल्लातर्फ, ४ थारु खुल्ला र ३ मुस्लिम खुल्लातर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएकोछ । यस्तै अपाङ्गता, अल्पसंख्यक र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको पनि परिणाम सार्वजनिक भएको छ ।

देउवा प्यानलबाट ६९, कोइराला प्यानलबाट १३ र सिंह प्यानलबाट १ जना केन्द्रीय सदस्य निर्वाचित भइसक्नुभएको छ ।

कांग्रेसको खुल्ला महिलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षका ८ जना निर्वाचित भएका छन् । देउवा पक्षबाट डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, रमा कोइराला पौडेल, सुशीला आचार्य ढकाल र रंगमती शाही निर्वाचित हुँदा कोइराला प्यानलबाट सरिता प्रसाईं मात्र निर्वाचित हुनुभयो ।

मधेसीतर्फ ४ महिलासहित ९ जना केन्द्रीय सदस्यमा ८ जना सभापति देउवा प्यानलबाट विजयी भएका छन् । यस्तै चार जना महिलातर्फ भने देउवा पक्षले पूरै जित हात पारेको छ । थारुतर्फ २ खुला र २ महिला गरी ४ वटै केन्द्रीय सदस्यमा देउवा पक्षले जितेको छ ।

यस्तै महिलातर्फ पनि देउवा समूहकै कल्पना चौधरी र जीवन राना विजयी हुनुभएको छ । कांग्रेसको मुस्लिमतर्फको केन्द्रीय सदस्यमा देउवा पक्षले ‘क्लिन स्विप’ पारेको छ । मुस्लिम खुल्लातर्फ अब्दुल रञ्जाक र अब्दुल सतार विजयी भएका छन् । यस्तै महिलातर्फ जावेदा खातुन जागा विजयी हुनुभएको छ । यस्तै पिछडिएका क्षेत्र, अपाङ्गतातर्फ र अल्पसंख्यकतर्फबाट तीनै जना देउवा पक्षले जित हात पारेको छ ।

सात वटा प्रदेशबाट ३–३ गरी कांग्रेसमा २१ जना केन्द्रीय सदस्य बनेका छन् । जसमा देउवा पक्षका १८, कोइराला पक्षका २ र सिंह पक्षका एक जना केन्द्रीय सदस्य निर्वाचित भए ।

अब ३७ केन्द्रीय सदस्यको अन्तिम परिणाम आउन बाँकी छ । खस–आर्य खुल्ला ७, खस–आर्य महिला ६ सिट दलिततर्फ ९, आदिवासी–जनजातितर्फ १५ सिटको मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्