कांग्रेस प्रदेश २ अधिवेशनमा उम्मेदवारबीचको विवाद कुटाकुटमा परिणत (भिडियो रिपोर्टसहित)
७ पुस २०७८ जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा सभापतिका दुई उम्मेदवारबीच विवाद बढेपछि मतदान भोलिसम्मका लागि स्थगित गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार र नेता विमलेन्द्र निधि समूहका उम्मेदवारबीच मतदानको समयलाई लिएर विवाद उत्पन्न भएको थियो ।
देउवा समूहका सभापतिका उम्मेदवार कृष्णप्रसाद यादव समूहले आजै मतदान हुनुपर्ने अडान राख्दा निधि समूहका उम्मेदवार रामसरोज यादव समूहले राति धाँधली हुन सक्ने भन्दै भोलि मात्र मतदान हुनुपर्ने माग राखेको थियो । विवाद बढ्दै जाँदा दुई समूहबीच झडप र कुटाकुट भएको थियो ।
कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । निर्वाचन समितिले प्रदेश २ मा आज नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । देउवा समूहका उम्मेदवार यादवले विपक्षी उम्मेदवारकै गृहजिल्लामा साँझ मतदान हुँदा धाँधली हुने कुरा गर्नु शंकाष्पद रहेको बताउनुभयो ।
आफू जनकपुरधाम बाहिरको भएकै कारण हेपेर कुटाकुटको स्थिति बनाइएको यादवको आरोप छ । कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनमा सभापतिका लागि दुई जना उम्मेदवार छन् । दुई जना उपसभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ । २ जना महामन्त्री पदका लागि ५ जनाले मनोनयन गराएका छन् ।
प्रतिक्रिया