खोप अभियान सञ्चालन नहुँदा सवा करोड बढी डोज खोप भण्डारण कक्षमै थुप्रियो

७ पुस २०७८ काठमाडौं । खोप अभियान सञ्चालन हुन नसक्दा सवा करोडभन्दा बढी डोज कोरोनाविरुद्धको खोप सरकारी भण्डारण कक्षमै थुप्रिएको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएपछि बुस्टर डोज लगाउनुपर्ने माग उठिरहेका बेला यति धेरै खोप भण्डारण कक्षमै थन्किएको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पुस महिनायता ९ लाख ९० हजार ४५६ डोज खोप लगाइएको छ । तर लक्ष्यअनुसार खोप अभियान अझै सञ्चालन हुन सकेको छैन । स्थानीय तह र प्रदेश सरकारसँगको समवन्य अभावले खोप अभियान प्रभावित भएको हो ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लाल कर्णका अनुसार स्थानीय तहबाट खोप लगाएको ११ प्रतिशतको हाराहारीमा तथ्याङ्क इन्ट्री हुन बाँकी छ । प्राप्त खोपको अनुपातमा सिरिन्ज कम उपलब्ध हुँदा खोप अभियान प्रभावित बन्न थालेको छ ।
सिरिन्ज उपलब्ध नहुँदा प्रदेश १ को खोप कार्यक्रम प्रभावित भएको छ भने प्रदेशले पनि सिरिन्ज सकिन लागेको रिपोर्टिङ खोप आपूर्ति शाखामा गरेका छन् । सरकारी तथ्यांकअनुसार मंगलबारसम्म १ करोड २२ लाख डोज कोरोना खोप सरकारी भण्डारणमा छ ।
काठमाडौंको केन्द्रीय भण्डारण टेकुमा ६४ लाख डोज खोप छ भने काठमाडौं वरिपरिका १० जिल्लाका लागि २ लाख ७३ हजार खोप मौज्दात छन् । प्रदेश १ मा ५ लाख ४५ हजार, प्रदेश २ को पथलैयामा १४ लाख, बागमती प्रदेशको हटौंडामा १ लाख ४१ हजार, गण्डकीमा १ लाख १४ हजार खोप भण्डारमा छ ।
यस्तै लुम्बिनीमा १ लाख २१ हजार, कर्णालीमा १ लाख ३४ हजार र सुदूरपश्चिममा ७९ हजार डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कुल ३ करोड ८५ लाख ३९ हजार ३६७ डोज खोप प्राप्त भएको छ । मंगलबारसम्म लक्षित जनसंख्याको ४८ दशमलव ९ प्रतिशतले पूर्ण खोप र ६१ दशमलव ५ प्रतिशतले एक डोज खोपको मात्रा लगाएका छन् ।
प्रतिक्रिया