राजनीति

यसरी सत्ता बार्गेनिङको अस्त्र बन्दै एमसीसी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते २०:५६
यसरी सत्ता बार्गेनिङको अस्त्र बन्दै एमसीसी (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) दलहरुका लागि सत्ता बार्गेनिङको अस्त्र बन्न थालेको छ । कांग्रेस एमसीसी संसदबाट पारित गर्नैपर्ने पक्षमा उभिँदा गठबन्धन घटक माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा छन् । एमसीसीले गठबन्धनमा बढाएको मतभेदलाई एमालेले चर्काउन खोजेको छ । यही बहानामा गठबन्धन तोड्ने एमालेको प्रयास शुरु भएको छ ।

एमसीसीका विषयमा साझा धारणा बनाउन सत्तारुढ गठबन्धन पटक–पटक छलफलमा जुटे । गठबन्धनको प्रमुख घटक कांग्रेस कुनैपनि हालतमा एमसीसी पारित गराउन चाहन्छ तर, अहिलेकै अवस्थामा पारित गर्न नहुने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको अडान छ ।

सम्झौताका केही बुँदा संशोधन गरेर मात्र पास गर्न सकिने यी दलको भनाइ रहँदै आएको छ । तर, एमसीसीले संशोधन गर्ने कुनै संकेत गरेको छैन बरु छिटोभन्दा छिटो पारित गराउन सरकारलाई दबाब दिंदै आएको छ । अन्तिम डेडलाइनको समय समेत घर्किसकेकाले एमसीसीलाई छिटो टुंग्याउन ताकेता गरिहेको छ । त्यसैले पनि कांग्रेस एमसीसी पारित गरिहाल्नुपर्ने पक्षमा छ ।

तर, कांग्रेसकै सत्ता साझेदार दलहरु मानिहाल्ने पक्षमा छैनन् । अन्य वैदेशिक सहयोगभन्दा फरक बनेको एमसीसी तल्लोतहसम्म गिजोलिएको छ । जनतामा एमसीसी अमेरिकी सैन्य योजना रहेको भ्रम छरिएको छ । जसले राजनीतिकरुपमा घाटा हुने विश्लेषणसहित सत्तारुढ माओवादी र एकीकृत समाजवादी हच्किएका छन् । त्यसैले उनीहरु केही बुँदा संशोधन गरेर मात्र एमसीसी पास गर्ने पक्षमा उभिए । अहिलेकै अवस्थामा पास गरे चुनावी घाटा हुनसक्ने उनीहरुको आंकलन छ । त्यसैले माओवादी र समाजावदी संशोधन हुनुपर्ने रटानमा रहेका छन् ।

सत्ता गठबन्धनमा देखिएको यो विवादलाई प्रमुख प्रतिपक्षी एमालेले नजिकबाट हेरेको छ । एमसीसीरुपी सियोले गठबन्धनको बेलुन फुटाउन सकिन्छ कि भन्ने आशामा एमाले देखिन्छ । त्यसैले उसले एमसीसी पास गर्न सहयोग गर्ने त्यसको बदला अर्ली इलेक्सनमा जानुपर्ने शर्त राखेको छ । एमाले नेता शेरबहादुर तामाङले पनि अर्ली इलेक्सनमा जाने भए कांग्रेसलाई साथ दिन सकिने बताउनुभएको छ ।

सरकारमा रहँदा एमाले एमसीसीको पक्षमा उभिएको थियो । तर अहिले मौन बसेको एमाले गठबन्धनको गडबडीलाई हतियार बनाउँदै कांग्रेसलाई फकाउने दाउमा रहेको प्रष्ट हुन्छ । यही एमसीसीले नेपाली राजनीतिको पछिल्लो परिदृश्य बदलिने हो कि भन्ने संकेतहरु देखिन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्