काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री, हिमाली भेगमा हिमपातको सम्भावना
६ पुस २०७८ काठमाडौं । आज पनि देशका हिमाली भू–भागमा हिमपताको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको हुँदा पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने बताएको छ ।
महाशाखाले बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने पनि बताएको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
प्रदेश १,बागमती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। महाशाखाले तराईका भू–भागमा बिहानको समयमा हुसु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच आज बिहान काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान ६ बजे काठमाडौंमा ३ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
हिजो बिहान ६ बजे काठमाडौंमा ३ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । आज दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् शान्ति कँणेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया