Main News

एमसीसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन् : उपाध्यक्ष पाण्डे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ५ गते १७:५०
एमसीसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन् : उपाध्यक्ष पाण्डे (भिडियो रिपोर्टसहित)

५ पुस २०७८ चितवन । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनासर्त कुनै पनि सहायता नपाइने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जुनसुकै देश वा दाताले दिने सहायतामा सर्त हुने गरेको बताउनुभएको हो ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पाण्डेले एमसिसिका सन्दर्भमा सोधिएको प्रश्नमा सहायता र ऋणमा पनि सर्त हुने बताउनुभयो । उहाँले भन्नुभयो,“कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिनाशर्त आउदैन ।”

अन्य विभिन्न देशबाट ऋण र अनुदान लिँदा सम्बन्धित ठेकेदारलाई ठेक्का दिने गरी लिने गरेको उहाँको भनाइ छ । पूर्व अर्थमन्त्री पाण्डेले सहायता प्राप्त गर्ने विधि थाहा नहुँदा धेरैलाई बिना सर्त आउछ भन्ने भान परेको बताउनुभयो ।

एमसिसिमा पनि सर्त रहेको भन्दै उहाँले ती सर्त देशको हितमा छ भने मान्न पर्ने र हितमा छैनन् भने मान्न नहुने बताउनुभयो । एमसिसिको विषयमा टिप्पणी गर्दै उहाँले रकम ठूलो कुरा नभए पनि यो राजनीतिक सम्बन्धमा गयो भने गम्भीर समस्या ल्याउन सक्ने बताउनुभयो ।

अमेरिकासँगको सम्बन्ध अरुको जस्तो थप जटिल बनिदियो भने भविष्यमा वैदेशिक सहायता वा ऋणको पक्ष कमजोर बनेर जान सक्ने उहाँको चिन्ता थियो । यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण ढङ्गले समस्याको सम्बोधन गर्नुपर्ने पाण्डेको भनाइ छ । यद्दपि सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको उहाँको आरोप छ ।

देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्रमा जटिल समस्या देखिएको भन्दै उहाँले यसको समाधान निर्वाचन नै भएको दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा पाण्डेले नेकपा (एमाले) भित्रको आन्तरिक व्यवस्थापन, जिल्लामा भएका विकास निर्माण बारेमा प्रकाश पर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *