राजनीति

एमाले अध्यक्ष ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ५ गते १६:४३
एमाले अध्यक्ष ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

५ पुस २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाउनु भएको छ ।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताउनु भएको हो ।

उहाँले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावनाविपरीत् नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र विरोधी भएको पुष्टि हुने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अदालतको फैसला छ, ह्वीप लाग्दैन भन्ने फैसला छ । अनि सभामुखले १५ दिनभित्र उहाँले लिनुपर्ने निर्णय १३ दिनकै दिन लिनुभएको छ । त्यहाँ कहीँ कतै ऐनको उल्लंघन पनि छैन । संविधानको मर्म र भावनाको उल्लंघन पनि छैन । तर अहिले पनि केपीजी माधवजी देखिएपछि त्यहाँ उपस्थित नहुने कसो अस्ति नेपाली कांग्रेसको महाधिवेशनमा आउनुहुन्न की भनेको आउनु भयो । नत्र माधवजी कहीँ जाने भन्ने भयो भने त्यहाँ उहाँ नजाने । यो भन्दा अराजनैतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र अरु केही हुन्छ ? ’

अध्यक्ष प्रचण्डले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दावी समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले ओलीले संसद अवरुद्ध गरेर विधेयकहरु पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘उहाँले अहिले पनि संसद अवरोध गर्नुको कारण भनेको के हो भने, उहाँले तर्र्क राख्नुभएको हामीले सुनेका छौँ । गठबन्धन टुट्छ भने उहाँले नेपाली कांग्रेसलाई एकलौटि सरकार बन्न दिने । यदि नेपाली कांग्रेसले गठबन्धन तोडेर एमालेको समर्थन लिन जाने हो भने । गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गर्ने । उहाँले खुलेआम दिएको तर्क हो यो । अर्कोतिर सदन चल्न नदिएर कुनै पनि विधेयकहरु परित हुन नदिने डिजाइन । यो सबै प्रतिगमनकै निरन्तरतामा उहाँ हुनुहुन्छ ।’

अध्यक्ष प्रचण्डले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने भन्दै ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधान रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउने समेत बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्