राजनीति

एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने अध्यक्ष नेपालको माग

हिमालय टिभी
२०७८ पुष ५ गते १६:३५
एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने अध्यक्ष नेपालको माग

५ पुस २०७८ काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनु भएको छ ।

समाजवादी प्रेस संगठन नेपालले आज काठमाडौंमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनु भएको हो । उहाँले एमसीसीको बारेमा सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निष्कर्ष निकाल्ने पनि बताउनु भयो ।

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौम सत्तासँग एमसीसी जोडिन नहुने बताउनु भयो । उहाँले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने, सच्याएर मात्रै अघि बढ्ने बताउनुभयो । अध्यक्ष नेपालले छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘एमसीसीको सबालमा पनि हामी छलफल चलाइरहेका छौँ । कसरी, त्यसको अन्तरवस्तु के छ ? कतै त्रुटी कमजोरी छन् भने, सच्याउनु पर्ने कुरा छ भने, कमिटमेण्ट दिनुपर्ने कुरा छ भने ती के के हुन् भन्ने बारेमा पनि हामी छलफल गरिरहेका छौँ । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निस्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौँ । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौँ । ’

अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अन्याय गरेको बताउनुभयो । उहाँले पार्टीमा रहँदा प्रचण्ड धेरै सोझो बन्नुभएको पनि बताउनुभयो । अध्यक्ष नेपालले प्रचण्डको कमलो मनले ओलीलाई चिन्न नसकेको भन्दै ओली ज्याद्रो मान्छे भएको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘म कमरेड प्रचण्डको पनि आलोचना गर्न चाहन्छु, उहाँ सोझो हुनपुग्नु भयो । कहिल्यै कुरा उठाउनु भएन उहाँले । अब मेरो पालो छ भन्नुपर्दथ्यो नि, पालो नै नभन्ने । सम्भवतः भर्खर पार्टी एकतावद्ध भएको छ । धेरै भन्यो भने समस्या खडा हुन्छ भन्ने उहाँको कमलो मनमा त्यही परेछ । उहाँले केपी ओलीलाई चिन्दै चिन्नुभएन । केपी ओली जस्तो ज्याद्रो मान्छेलाई उहाँले चिन्न नै सक्नु भएन । म त हत्तु हैरान भएर बसेको मान्छे । तर उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।’

अध्यक्ष नेपालले केपी ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोपसमेत लगाउनु भयो । उहाँले गफमा कसैले नसक्ने भन्दै गफाडी नम्बर १ भनेर गिनिज बुकमा नाम लेखाए हुने बताउनु भयो ।

अध्यक्ष नेपालले संसद चल्न नदिने र संविधानलाई गति नदिने व्यक्ति परिवर्तनको संवाहक बन्न नसक्ने पनि दाबी गर्नुभयो । अध्यक्ष नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि ओलीमा चरम व्यक्तिवादी प्रवृत्ति हुर्किएर आउँदा आजको दिन कालो दिनको रुपमा पुगेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्