कसरी बनाइन्छ यःमरी ?(भिडियो रिपोर्टसहित)

४ पुस २०७८ काठमाडौं । आज यः मरी पुन्ही । अर्थात यः मरी पूर्णिमा । उपत्यका लगायत देशभरका नेवा समुदायले विभिन्न देवी देवतालाई यः मरी चढाई पुजाआजा गरि यो पर्व मनाएका छन् । आफन्त र मित्रजनलाई निम्तो दिई यः मरी सहितका परिकार बनाई खाने चलन पनि नेवा समुदायमा छ । यसै अवसरमा काठमाडौंको बसन्तपुरमा बनाईएको यः मरी खान आउनेको भिड लागेको छ ।
नेपाल सम्बतको दोस्रो महिना थिंलाको पहिलो पूर्णिमाको दिन नेवा समुदायले बनाउने विशेष पर्व हो यः मरी पुन्ही । उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्व मनाउँदै आइरहेका छन् । यस दिन यः मरीको विशेष परिकार सहित पुजाआज गरेमा बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वास छ ।
त्यसैले आजको दिन विभिन्न मन्दिरमा नेवा समुदायको भिड लाग्ने गर्दछ ।
नेपाल भाषामा यःमरीको अर्थ ‘यः’ भनेको मनपर्दो र ‘मरी’ भनेको मिठाई भन्ने बुझिन्छ । तसर्थ यसलाई मनपर्दो मिठाई भनेर बुझ्ने गरिन्छ । यःमरीलाई पञ्चतत्वको रुपमा पनि लिने गरिन्छ । धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ।
पूर्णीमाको रात २४ वटा यःमरी धानको भकारीमा राख्ने र पूजा गर्ने चलन छ । पछिल्लो समय भने अन्य समुदाय पनि यःमरीको स्वाद चाख्न लालायीत भएको देखिन्छन् ।
यःमरी बनाउँदा चामलको पिठो तातो पानीले मुछेर डल्लो बनाई एक छेउ चुच्चो हुनेगरी खाल्डो पारिन्छ । अण्डाकारको स्वरूपमा बनाईएको डल्लोमा चाकु र तिलको घोल राखिन्छ । कतिपय क्षेत्रमा यःमरिमा मास, खुवा आदि राखेर पनि बनाउने गरिन्छ । यसलाई बाफले मात्रै पकाइन्छ ।
चामलको पिठो जाकी चुँ बाट बनाईने हुँदा हातमा नटासियोस् भनेर तोरीको तेल दलिन्छ ।
धान्य पूर्णिमाको साँझ टोल टोलमा देउसी, भैलो खेलेजस्तै बालबालिका र युवायुवती जम्मा भई यःमरी माग्ने चलन पनि छ । यःमरी माग्ने चलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । यःमरि को चुच्चो जस्तै यस्मरी पुन्हीदेखि दिन लामो हुने जनविश्वास पनि छ । गत सातामात्र सम्पन्न न्हेय गाँ जात्रा मनाइने कीर्तिपूर लगायत काठमाडौंको पश्चिमी भेगका अधिकांश क्षेत्रमा भने यःमरि पुन्ही मनाइँदैन ।
प्रतिक्रिया