ओमिक्रोन प्रभावित मुलुकबाट आउनेले सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

३ पुस २०७८ काठमाडौं । कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिका विश्वका विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य सात दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल आउनेले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको हो ।
होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्च स्वयम्र व्यक्तिले व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ । पीसीआर रिपोर्ट पोजेटिभ आए थप सात दिन होम आइशोलेसनमा बस्न पनि अध्यागमनले आग्रह गरेको छ ।
मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो । छिमेकी भारतसहित एसियाली देशहरूमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको विभागका निर्देशक मुकेशकुमार केसीले बताउनुभयो ।
अध्यागमनको सूचीमा अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स छन् ।
यस्तै जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्वीट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सलगायत देशबाट आएकाहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छ ।
अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ ।
प्रतिक्रिया