Main News

भारतीय नेताको कुराः मुखमा रामराम बगलीमा छुरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २ गते २१:००
भारतीय नेताको कुराः मुखमा रामराम बगलीमा छुरा (भिडियो रिपोर्टसहित)

२ पुस २०७८ काठमाडौं । भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन कायम छ । भर्खरै सम्पन्न जनगणनामा नेपाली गणकहरुलाई नेपालको नक्सामै रहेको सो भूमिमा जान समेत भारत पक्षले अवरोध गर्‍यो । तर, भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि कब्जा भएको उत्तराखण्डमै आएर दिएको पछिल्लो अभिव्यक्तिले अहिले चर्चा पाएको छ । के साँच्चै भारतले नेपालसँग सम्बन्ध सुधार्नै चाहेको हो त ?

भारतीय रक्षा मन्त्री राजनाथ सिंह तिनै व्यक्ति हुन् जसले सन् २०२० मा नेपाल, भारत र चीनको त्रिदेशीय विन्दुमा नेपालाको सहमतिविनै लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गरेका थिए । नेपालको भूमिमा भारत र चीनले बलमिच्याईं गरेको भन्दै त्यतिबेला नेपालले भारतसँग कूटनीतिक नोट पठाएरै आपत्ति जनाएको थियो ।

नेपाल र भारतबीच त्रिदेशीय विन्दुमा भारतले गरेको एकलौटी पछि चिसिएको सम्बन्ध अझै सुध्रिएको छैन । अझ नेपालले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि त भारतसँगको सम्बन्ध थप विग्रिएको छ ।

नेपाली भूमि कालापानीमा उसले आफ्नो सेना राखेर दादागिरी चलाइरहेको छ भने लिपुलेक हुँदै मानसरोवर जाने बाटो खनेर नेपाललाई चिढ्याइरहेको छ ।

भारतको उत्तराखण्ड राज्यसँग जोडिएको नेपाली भूमि अतिक्रमण गरेको भारतका रक्षामन्त्री राजनाथ सिंहले मंगलबार भने भारतले नेपालसँग सम्बन्ध बिगार्न नचाहेको बताए । आफैले मित्र राष्ट्र नेपालको भूमि मिचेर सम्बन्ध बिगारेपनि सिंहले भने नेपाल र भारतबीच सम्बन्ध बिगार्न केही तत्वहरु लागेको अभिव्यक्ति दिए ।

तर, त्यो तत्व को हो ? भन्नेबारे उनले खुलाएका छैनन् । सिंहको भनाइले संकेत गर्छ, नेपाल–भारत सम्बन्ध बिगार्न चीन सक्रिय छ । आफूलाई ठूल्दाई सम्झने र हेपाहा प्रवृत्ति देखाइरहने भारतका रक्षामन्त्री सिंहको पछिल्लो अभिव्यक्ति भने लचक छ ।

नेपालका परराष्ट्र मामलाका जानकारहरु भारत पछिल्लो समय नेपालसँग सम्बन्ध सुधारकै पक्षमा रहेको ठान्छन् । भारतका रक्षामन्त्री सिंहको पछिल्लो अभिव्यक्तिलाई पनि उनीहरुले नेपालसँग ‘कोर्ष करेक्सनकै ’ प्रयासका रुपमा हेरेका छन् ।

नेपालसँगको सम्बन्धमा मुखले राम्रो बोलेपनि भारतको व्यहवहार भने मिचाहा रहेको महसुस नेपाल र नेपालीले गरिरहेका छन्। नेपालसँग शिर झुकाउन तयार रहेको बताए पनि सिंहले अन्तिममा नेपालको समेत भूमि मिचेर बनाइएको मानसरोवर यात्राका लागि लिपुलेकबाट जाने बाटोलाई पूरा गरिसकिएको बताए ।

शिर झुकाएर पनि सम्बन्ध बचाउँछौं भन्ने सिंहले नेपालको भूमि अतिक्रमण गरेर मानसरोवर जाने बाटो बनाइएको बारे भने गल्ती भएको कतै बताएनन् । यसले देखाउँछ भारत बोलीमा ठिक्क तर व्यवहारमा उही हेपाहा र मिचाहा प्रवृत्ति देखाइरहेको छ । त्यसैले नेपाल सरकारले शिर ठाडो पारेर नबोल्ने हो भने भारतीय हेपाहा प्रवृतिले निरन्तता पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *