राजनीति

प्रश्न सोध्ने होइन, अब कामैले उत्तर दिने ठाउँमा थापा र शर्मा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २ गते २०:२५
प्रश्न सोध्ने होइन, अब कामैले उत्तर दिने ठाउँमा थापा र शर्मा (भिडियो रिपोर्टसहित)

२ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीमा पछिल्लो पुस्ता निर्वाचित भएपछि पार्टीका कार्यकर्ता र शुभचिन्तकमा उत्साह थपिएको छ । गगन थापा, विश्वप्रकाश जस्ता प्रखर पुस्ता नेतृत्वमा पुगेपछि कार्यकर्ता उत्साहित हुनु स्वभाविकै हो । तर आगामी चार वर्षे कार्यकालमा नयाँ नेतृत्वले उनीहरुको आशा र चासोलाइ कसरी सम्बोधन गर्छ भन्नेमा सबैको नजर केन्द्रित हुने छ ।

दोस्रो पटकको प्रयासमा महामन्त्रीमा निर्वाचित गगन थापा बाह्य राजनीतिमा मात्रै नभएर पार्टीभित्रको अन्तरसंर्घषमा सधैं अग्रपंतिमा रहनुभयो । केही व्यक्तिहरु बसेर गरेको निर्णय केन्द्रीय कार्यसमितिमा ल्याएर अनुमोदन गराउने विषय होस्, या पार्टीका विभागहरु र भातृसंगठनहरुको क्रियाशीलता होस् अथवा पार्टीका बैंठकहरुलाई लिएर नै किन नहोस्, थापाले सधैं नेतृत्वलाई प्रश्न गरिरहनु भयो ।

आक्रामक भाषण गर्ने थापाको यही जुझारुपनलाई मन पराउने कांग्रेस कार्यकर्ताले १४ औं महाधिवेशनमा उहाँलाई महामन्त्री जस्तो पार्टीको कार्यकारी पदमा निर्वाचित गरे । त्यो पनि सर्वाधिक मत दिएर । कार्यकर्ताको मनोभाव बुझेका थापाले पनि निर्वाचित भए लगत्तै चार वर्षे कार्यकालमा आफूलाई बिजयी
गराउने मतदातालाई निराश नबनाउने प्रतिबद्धता जनाउनु भयो ।

थापासंगै कार्यकारी पद महामन्त्रीमा निर्वाचित अर्का नेता हुनुहुन्छ विश्वप्रकाश शर्मा । उहाँ थापा जस्तै पार्टी भित्र र बाहिर उत्तिकै लोकप्रिय र जुझारू नेताका रुपमा परिचित हुनुहुन्छ । थापा र शर्मा दुवैका लागि अव भाषणमा भन्दा काममा खरोरुपमा उत्रिनुपर्ने चुनौति छ ।

महाधिवेशन पछि नेपाली कांग्रेसमा उत्साह त थपेको छ । त्यो उत्साहलाई मर्न नदिन थापा र शर्मा जस्ता कांग्रेसका पछिल्लो पुस्ताका नेतृत्वले पार्टीलाई गतिशिल बनाउन कस्तो भूमिका निर्वाह गर्छन, त्यसैमा भर पर्छ ।

साथै नेपाली कांग्रेसमा सभापति नै सर्वेसर्वा हुने भएकाले सभापति शेरबहादुर देउवासंगको उहाँहरुले कसरी सहकार्य गर्नुहुन्छ ? त्यस्ले पनि थापा र शर्माको क्षमताको मूल्यांकन हुने छ । नेतृत्वमा पुग्नेहरुमा बिगतमा भागबन्डामा अल्झिने तितो यथार्थ नेपाली कांग्रेसजनको अनुभव हो । युवा नेतृत्व सभापतिसंग रचनात्मक सहकार्यमा ध्यान दिन्छ कि बागबन्डामा बार्गेनिङ गर्छ, यस्ले पनि धेरै फरक पर्ने विश्लेषक पुरुषोत्तम दाहाल बताउनुहुन्छ ।

नेपाली कांग्रेसको तलदेखि माथिसम्म रहेका संरचना र सचिवालयलाई चुस्त दुरुस्त राख्नु नयाँ नेतृत्वको अर्को मुख्य काम भएको विश्लेषक दाहालको भनाइ छ । युवा जोशमा संयमित भएर काम गर्नु पर्ने चुनौति एकातिर छ भने धेरैको आकांक्षा सम्बोधन गर्नुपर्ने चुनौति यो नेतृत्वमा छ ।

पार्टी भित्रका गुटहरुलाई सन्तुलनमा राख्दै काम गर्नुपर्ने चुनौति पनि आफैंमा पेचिलो छ । पछिल्लो पुस्ताका नेतृत्वमा केही गरौं भन्ने भावना भएकाले केही देखिने गरी काम हुन सक्ने आशा गर्ने ठाउँ भने रहेको विश्लेषक दाहाल बतानुहुन्छ ।

नेपाली कांग्रेसका भातृसंगठनहरु लथालिंग अवस्थामा छन् । ति भातृसंगठनहरुको अधिवेशन गरी विधिसम्वत रुपमा नेतृत्व चयन गर्नुपर्ने दायित्व पनि थापारशर्मा नेतृत्वको काँधमा आइपुगेको छ । पार्टीका आन्तरिक समस्यालाई चिर्दै अन्तरपार्टी राजनीति र राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको नयाँ नेतृत्वले कसरी भूमिका खेल्ने छ ? त्यसैमा उहाँहरुको सफलता र असफलताको निर्धारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्