Main News

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक : हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे

हिमालय टिभी
२०७८ पुष २ गते १५:०६
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक : हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे

२ पुस २०७८ काठमाडौं । सडक विस्तार सुरु भएको छ वर्षमा पनि पूरा नभई जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अलपत्र हुँदा स्थानीयवासी एवं यात्रु धुलोले हैरान भएका छन् ।

आर्थिक वर्ष २०७५/२०७६ मा सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी यो सडक छ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विलस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो । यो सहमति भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम नसक्दा हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीयवासी समस्यामा परेका हुन् ।

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका लक्ष्मण खतिवडा विसं २०५६ देखि नै जीर्ण रहेको सडक विस्तार गरेर बनाउन सुरु भएको छ वर्ष पूरा हुँदा पनि काम नसकिँदा समस्या भएको बताउनुहुन्छ । विभिन्न दलका नेताले सडक बनाउँछु भन्दै भाषण गर्ने गरे पनि काम भने नभएको उहाँको गुनासो छ । सडक किनारको घरमा बस्न नसक्ने भएपछि दैनिक दुई घण्टा पानी हाल्नु खतिवडाजस्ता सयौँको दैनिकी भएको छ ।

निर्माण व्यवसायीले सडक निर्माण जिम्मा लिने बेलामा गरिने सम्झौतामा वातावरणीय क्षति नगरी काम गर्ने गरे पनि कार्यान्वयन हुँदैन । सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाजस्ता सरोकार भएका निकायले पनि यसमा ध्यान दिएका छैनन् ।

धुलोले घरमै बस्न नसक्ने भएपछि खतिवडामात्र होइन सडक किनारका दर्जनौँ स्थानमा स्थानीयवासी पानी हालिरहेका भेटिन्छन् । नगरपालिकाको वडा नं २ नयाँपाटीमा क्लिनिकसहित सामुदायिक स्वास्थ्य केन्द्र चलाइरहनुभएका डा रोशन पोखरेल सडकमा उड्ने धुलोकै कारण दैनिक दर्जनौँ घाँटी दुख्ने, घाँटी खसखसाउने समस्या लिएर आउने गरेको सुनाउनुहुन्छ । धुलोले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएपनि समस्या समाधानमा सरोकार भएका निकायले ध्यान दिएका छैनन् ।

सडक विस्तार आयोजनाका प्रमुख दीपेन्द्र पाण्डे भने केही स्थानीयवासीले पानी हाल्न नदिएको दाबी गर्नुहुन्छ । पानी हाले काम गर्न दिँदैनौँ भनी केही मानिसले भन्दा समस्या हुने गरेको उहाँको भनाइ छ । यसअघि विस्तार आयोजना प्रमुख भएर काम गरिसक्नुभएका विभागका सूचना अधिकारी गुरुप्रसाद अधिकारी भने कति आयोजनाको सम्झौतामै पानी हाल्ने व्यवस्था उल्लेख गरिएको हुने र कतिमा भने सहमतिका आधारमा काम गर्ने गरिएको बताउनुहुन्छ ।

संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बस्न पाउने मौलिक हकको व्यवस्था गरिएकाले वातावरण नबिगारी विकास निर्माणका काम गरिनुपर्ने उहाँको भनाइ छ । धुलोको समस्या छ वर्षअघि नै ठेक्का भएर अलपत्र रहेको जोरपाटी–साँखु सडकमा पनि छ । यो सडकमा पनि निर्माण व्यवसायीले पानी नहाल्दा स्थानीयवासीको स्वास्थ्यमा समस्या भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–५ थलीकी स्थानीयवासी सुम्निमा पुडासैनी घरअघिको सडकको धुलोले दैनिक घरमै बस्दा पनि घाँटी दुख्ने समस्याले सताएको बताउनुहुन्छ । धुलोसँगै सवारीको धुवाँले पनि अप्ठ्यारो हुने गरेको उहाँको दुःखेसो छ । स्थानीय सरकार, विस्तार आयोजनालगायत सरोकार भएका निकायलाई समस्याका बारेमा पटकटपक अवगत गराए पनि समाधान नभएको स्थानीयवासीको भनाइ छ ।

जोरपाटी–साँखु सडकको ठेक्का पनि विसं २०७२ मै भएको हो । यो सडकको धेरै स्थानमा कालोपत्र भइसके पनि केही स्थानमा घरका कारण विस्तार हुन नसक्दा स्थानीयवासी धुलोले पीडित भएका हुन् । सरकारले उपलब्ध सडकमै कालोपत्र गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *