Main News

ह्वात्तै बढ्यो चिसो, सतर्कता अपनाउन चिकित्सकको सुझाव

हिमालय टिभी
२०७८ पुष १ गते ९:२१
ह्वात्तै बढ्यो चिसो, सतर्कता अपनाउन चिकित्सकको सुझाव

१ पुस २०७८ काठमाडौं । तापक्रम घटेसँगै देशभर नै चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित देशका धेरै ठाउँको तापक्रम एकदेखि साढे २ डिग्री सेल्सियससम्म घटेको छ ।

हिजो ४ दशमलव ३ डिग्री सेलिस्यस मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान झण्डै १ डिग्रीले घटेको छ । काठमाडौंको आज बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जुम्लाको तापक्रम २ डिग्रीले घटेको छ । अस्ति माइनस ४ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको हिजो बिहानको तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै भैरहवाको न्यूनतम तापक्रम साढे २ डिग्री सेल्सियसले घटेको छ ।

अस्ति बिहान न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको भैरहवाको हिजो बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

यसैबीच चिसो अझै बढ्ने भएकाले बच्ने उपाय अपनाउन मौसमविदले आग्रह गरेका छन् । भोलि बिहान पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर सर्ने क्रममा उच्च पहाडी तथा हिमाली भूभागहरूका केही ठाउँमा हल्का हिमपात हुने र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पानी पर्ने भएकाले चिसो झनै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार यो प्रणालीका कारण न्यूनतमसँगै अधिकतम तापक्रम घटेर चिसो अझ बढ्ने छ । वर्षा र हिमपात हुने भएकाले पर्वतारोहण नगर्न उहाँको सुझाव छ ।

यस्तै हवाई र यातायात सेवासमेत प्रभावित हुने सम्भावना रहेको उहाँले बताउनुभयो । तर आज दिउँसो भने देशका पहाडी भेगको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सफा रहने मोसमविद् नगरकोटीको भनाइ छ ।

चिसोबाट जोगिन न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खानुपर्छ । डाक्टर प्रकाश दङ्गालले चिसो मौसममा बिहान बेलुकी सतहमा प्रदुषण बढ्ने भएकाले व्यायामको नाममा हिँडडुल नगर्न सुझाव दिनुभयो ।

उहाँले व्यायाम गर्नैपर्ने भए घरभित्रै व्यायाम गर्न पनि सुझाव दिनुभएको छ । विशेषगरी चिसो मौसममा फ्लूको सङ्क्रमण हुने भएकाले इन्फ्लूएन्जा खोप लगाउन पनि उहाँले सुझाव दिनुभएको छ । दम र श्वासप्रश्वासमा समस्या भएका व्यक्ति चिसोबाट जोगिनै पर्नेमा डाक्टर दङ्गालले जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *