Main News

ओलीवेशन र अधिवेशनको फरक कांग्रेसको महाधिवेशनले दिएको गगन थापाको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २९ गते १७:५९
ओलीवेशन र अधिवेशनको फरक कांग्रेसको महाधिवेशनले दिएको गगन थापाको दाबी (भिडियो रिपोर्टसहित)

२९ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले ओलीवेशन र अधिवेशनको फरक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनले दिएको बताउनु भएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आयोजना गर्नुभएको प्रतिनिधिहरुलाई धन्यवाद दिने कार्यक्रममा बोल्दै नेता थापाले ओलीवेशन र अधिवेशनको फरक नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले दिएको बताउनु भएको हो ।

उहाँले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर कांग्रेसको अधिवेशनमा स्वयं प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट पार्ने बताउनु भयो । नेता थापाले सभापति देउवाले अब नेपाली कांग्रेस पार्टीलाई गुटरहीत बनाएर सही दिशा दिनुपर्ने बताउनु भयो ।

नेता थापाले भन्नुभयो, ‘निर्वाचनको बेलामा हिजो करिवकरिव सम्माननीय प्रधानमन्त्रीज्यू निर्वाचनको प्रारम्भबाट अन्तिम मत हाल्ने बेलासम्म त्यस्तो चिसो स्याँठ चलेको बेलामा पहिला कोट, कोटमाथि ओभरकोट थपेर भएपनि ५ घण्टा लाइन लागेर बस्नुभयो । एउटा एउटा मतदातालाई हात जोड्नुभयो । सेल्फी खिच्नुभयो । बसिराखेको ठाउँबाट एउटा मतदाता आयो कि जुरुक्क उठ्नुभयो । म पनि यता सँगै बसेर डा. शेखर कोइरालालाई मत मागिरहेको थिएँ । मेरो मनभित्र त्यो बेलामा २ वटा कुराहरु खेलिरहेको थियो । उहाँको मनभित्र डर चाहीँ रहेछ । कतै दोस्रो चरणमा चिप्लिने हो कि भन्ने । त्यसैले एकजना मतदाता पनि छोड्नुभएन ।’

उहाँले भन्नुभयो–‘सँगै अर्को पनि सोचेँ । यस्तै अधिवेशन केही समयअघि नारायणीको किनारमा पनि भएको थियो । पूर्वप्रधानमन्त्री त्यो बेलामा शानले एउटा रिसोर्टमा बस्नुभएको थियो । अरु सबै नारायणी किनारमा घाममा सेकिएर बसेका थिए । कतिखेर निस्कनुभयो, बगलीबाट एउटा लिस्ट निकाल्नुभयो पढ्नुभयो, सुनाइदिनुभयो अधिवेशन सकियो । तर हाम्रो अधिवेशनको फरक बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनुप¥यो । हात जोड्नुप¥यो, मत माग्नुप¥यो । त्यो मैले भन्ने गरेको ओलीवेशन र अधिवेशनको फरक यही नै हो ।’

नेता थापाले अब पार्टीका नेताहरु सबैको सभापति शेरबहादुर देउवा भएको बताउँदै पार्टीमा आफ्नो सम्बन्ध संघर्ष र सहकार्यको हुने बताउनु भयो । उहाँले पार्टी सभापतिको कुनै गुट नहुने भन्दै नवनिर्वाचित सभापति देउवालाई सोही अनुसार अघि बढन आग्रह गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *