राजनीति

कांग्रेस नेतालाई प्रविधिमाथि किन यस्तो आशंका ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २७ गते २०:२०
कांग्रेस नेतालाई प्रविधिमाथि किन यस्तो आशंका ? (भिडियो रिपोर्टसहित)

२७ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतदान प्रक्रिया निकै झण्झटिलो बनेको छ । २९ वटा मत पत्रमा मत खसाल्नु पर्ने मतदान कार्यक्रममा मत पेटिकाका रुपमा ठूलठूला प्लास्टिक पानी ट्यांकीहरुको प्रयोग गरिएको छ । विद्युतीय भोटिङ मेसिन प्रयोग गरेर सहज बनाउनुपर्नेमा कांग्रेस प्रविधि सदुपयोगमा चुकेको छ ।

पाँच वर्षअघि संसदीय दलको निर्वाचनमा नेपाली कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो । तत्कालीन संसदीय दलका नेता शुशील कोइरालको निधनपछि रिक्त रहेको पदमा कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा दलको नेतामा भिड्दा प्रयोग गरिएको विद्युतीय मेसिन त्यसअघि २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा समेत प्रयोग गरिएको थियो ।

यो चुनाव क्षेत्रबाट हालका कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंह विजयी हुनु भएको थियो । त्यसअघि र पछि चुनावबाट नेतृत्व चयन गर्ने विभिन्न संघ संस्थाले विद्युतीय भोटिङ मोसिन प्रयोग गरिरहेका छन् । नेकपा एमालेले भर्खरै सम्पन्न दशौँ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन नै प्रयोग गर्यो भने त्यसको केही समय पछि भएको राप्रपाको महाधिवेशनमा समेत विद्युतीय भोटिङ मेसिन प्रयोग गरियो । तर राप्रपामा अध्यक्ष पदका प्रत्यासीले मेसिनको विश्वास नगरेपछि अध्यक्ष बाहेकका पदमा मात्रै विद्युतीय मेसिन प्रयोग गरियो ।

एमालेले पूर्ण रुपमा र राप्रपाले आंशिक रुपमा प्रयोग गरेको विद्युतीय भोटिङ मेसिनलाई नेपाली कांग्रेसले भने विश्वास गरेन । व्यवस्था परिवर्तनको अग्रमोर्चामा रहने कांग्रेस प्रविधि र प्रवृत्ति परिवर्तनमा आफूलाई कमजोर सावित गर्दै आएको छ । पार्टीको १४औँ महाधिवेशनमा देश तथा प्रवाशबाट आएका साढे ४ हजारभन्दा बढी प्रतिनिधिलाई सहज रुपमा मतदानको व्यवस्था गर्नुपर्नेमा निकै झण्झटिलो प्रक्रियाबाट मतदान गरिएको छ ।

२९ वटा मतपत्र बोकेर झण्डै १ घण्टा लगाएर मतदान गर्नुपर्ने, मत पेटिकाका रुपमा पानीका ठूलठूला प्लास्टिक ट्यांकीहरुको प्रयोग, अनि गणनाका लागि हप्तौँ लाग्ने प्रक्षेपणले कार्यकर्ताहरु अवाक बनेका छन् । पछिल्ला परिवर्तनपछि पनि प्रतिस्पर्धी दलहरुले कांग्रेसलाई यथास्थितिवादी र दक्षिणपन्थीको संज्ञा दिने गर्नुका पछाडि पनि यस्ता उदाहरणहरु हुन सक्छन् ।

छिमेकी मुलुक भारतले पछिल्ला दुई आम निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिसकेको छ । आम मतदाताको शैक्षिकस्तर, नेताहरुको प्रचार शैली, राजनीतिक दलहरुको प्रवृत्ति खास फरक नभएको भारतले विद्युतीय भोटिङ मेसिनलाई प्रयोग गरेर आफूलाई प्रविधिमा अमेरिकाको हाराहारीमा लैजाँदा सानो जनसंख्या भएको देशमा यत्ति फड्को मार्न सक्ने नेपालको आम निर्वाचनमा त गरिएन गरिएन, रुलिङ पार्टीका रुपमा रहेको नेपाली कांग्रेसले आफ्नै निर्वाचनमा समेत प्रविधिमाथि शंका गरेर बसेको छ ।

सन् २०१८ मा मध्य अफ्रिकी देश कंगोलेसमेत आम निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो । त्यसअघि नै दक्षिण अफ्रिकी देश नामिबियाले विद्युतीय भोटिङ मेसिन प्रयोग गरिसकेको छ । आंशिक रुपमा हुने निर्वाचनमा विश्वका थुप्रै देशले यस्तो मेसिनलाई प्रयोगमा ल्याइसकेका छन् ।

भारत, अमेरिका जस्ता ठूला देश र सिंगापुरलगायतका केही साना देशहरुलेसमेत आम निर्वाचनमा पूर्ण रुपमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेका छन् । ओल्ड इकोनोमिक फोरमले गत वर्ष सार्वजनिक गरेको एउटा रिपोर्ट अनुसार विश्वभर करिब १० प्रतिशत देशले पूर्ण रुपमा विद्धुतीय भोटिङ मेसिन प्रयोग गर्ने गरेका छन् । कतिपय देशले त विद्युतीय मात्र होइन इन्टरनेट भोटिङ समेत सुरु गरेका छन् ।

क्यानडा, स्वीटजरल्याण्ड, अर्मेनिया, इस्टोनियाजस्ता देशका मतदाताले इन्टरनेटबाटै मतदान गर्न पाउँछन् । हाम्रो देशमा भने घण्टौँसम्म लाइन बसेर मतदान गर्ने र हप्तौँसम्म मतगणना गर्ने परम्परा जारी छ । भोट माग्न समृद्धि र समुन्नतिका अनेक सपना बाँडे पनि आफैले सोच र व्यवहार परिवर्तन गर्न नसक्ने दलहरुबाट कस्तो अपेक्षा राख्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्