Main News

पहुँचवालाले तेस्राे डाेजस‍मेत लगाउन थाले (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २६ गते २१:०८
पहुँचवालाले तेस्राे डाेजस‍मेत लगाउन थाले (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७८ काठमाडौं । गत वर्ष माघ १४ गतेदेखि सुरु भएको कोरोना विरुद्धको खोप अभियान जारी छ । सुरुवाती चरणमा आनाकानी गरिरहेका नागरिक अहिले कोरोनाविरुद्धको खोप लगाउन उत्साहित छन । कतिपय नागरिकले खोप नपाइरहेका बेला पहुँचवालाले तेस्रो डोजस‍मेत लगाउन थालिसकेका छन् ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले केही हप्ताअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सरकारले बुस्टर डोज दिने तयारी गरिरहेको जानकारी गराउनुभयो । स्वास्थ्य मन्त्री खतिवडाले बुस्टर डोजको तयारीबारे मात्रै बोले पनि यतिबेला कतिपय पहुँचवालाले बुस्टर डोज खोप लगाउनै शुरु गरिसकेका छन् । बुस्टर डोज लगाउने अभियान आधिकारिक रुपमा शुरु नगर्दै कतिपयले लगाउन थालेपछि स्वास्थ्य मन्त्रालय नै हैरान बनेको छ ।

विश्वका विभिन्न देशले बुस्टर डोज अर्थात् पूर्ण मात्रा पूरा गरेकाहरुलाई तेस्रो मात्रा खोप दिइरहेका छन् । जस्ले गर्दा नेपालमा पनि बुस्टर डोजको चासो हुनु स्वभाविक नै हो ।

सरकारले भने आधिकारिक रुपमा बुस्टर डोज लगाउने विषयमा कुनै निर्णय समेत गरिसकेको छैन । तर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएसँगै भने स्वास्थ्यकर्मी, राजनीतिज्ञ, र सरकारी कर्मचारीहरुले पहुँचका आधारमा बुस्टर डोज लिन थालेको खबर बाहिरिएको छ ।

सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म ३६ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएका छन् भने ३० प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । ६० प्रतिशत जनसंख्या एक मात्रा पनि खोप नपाएको अवस्था छ । यस्तो अवस्थामा पहुँचको आधारमा र लुकिछिपि तेस्रो डोज लगाइरहेकाहरुलाई के कार्वाही हुन्छ ?

हुनत सरकारसँग खोप प्रशस्तै छ । अझै दुई करोड ७० लाख डोज खोप पाइपलाइनमै छ । तर जथाभावी बुस्टर डोजका नाममा खोपको मात्रा बढाएर तेस्रो डोज लगाउँदा स्वास्थ्यलाई नै जोखिम हुन सक्ने विज्ञहरुले बताइरहेका छन् ।

खोपको पर्खाइमा रहेका लाखौँ नागरिकलाई बेवास्ता गरेर अवैध रुपमा तेस्रो डोज खोप लगाउने कामलाई निरुत्साहित गरी बुस्टर डोजका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *