Main News

नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि दोस्रो चरणको आन्दोलन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २६ गते २१:०५
नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि दोस्रो चरणको आन्दोलन (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७८ काठमाडौं । बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि महिला अधिकारकर्मी र परिवारका सदस्यले काठमाडौंको माइतीघरमा दोस्रो चरणको आन्दोलन शुरु गरेका छन् ।

गत कार्तिक १४ गते सरकारलाई बुझाएको प्रतिवेदन अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि पुनः आन्दोलन शुरु गरेका हुन् ।

महिला अधिकार मञ्च बाँकेकी रुबी खानलगायत १७ जनाको समूह निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि केही समययता निरन्तर संघर्षरत छन् । उनीहरुले काठमाडौंको माइतीघरमा धर्ना दिइएको आज १८ दिन भयो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सुकुल बिच्छयाएर धर्ना दिइरहेका छन् ।

सरकार र रूबी खानबीच बाँके घटनाको छानबिन समिति बनाउने लगायतका विषयमा गत कार्तिक १४ गते सहमति भएको थियो । पहिलो चरणको आन्दोलनमा २० दिन पैदल हिडेर केन्द्रीय सरकारको ढोका ढकढक्याउन आएका उनीहरुको समस्या जिउँकात्युँ छन् ।

नकुन्नी र निर्मला हत्या प्रकरणमा सात जनालाई बाँके प्रहरीले पक्राउ त गर्यो तर सोधपुछ पछि छोडिदियो । सरकारले आँखामा छारो हाल्ने काम मात्र गरेकोमा उनीहरु दुखी छन् । उता आरोपीमध्ये पूर्वसभासद बादशाह कुर्मीले आन्दोलन नगर्न धम्की दिँदै आएका छन् ।

जिल्लामा न्याय नपाएर काठमाडौं आएकाहरु केन्द्रीय सरकारसँग हारगुहार गरिरहेका छन् । खान र बस्नको ठेगान समेत नभएका उनीहरु माग पूरा नहुन्जेल घर नफर्कने अडानमा छन् ।

माइतीघर मण्डलामा उठेको यो आवाज सरकारले सुनेपनि नसुनेझैं गरिरहेको छ । राजनीतिलाई आवरण बनाएर अपराधिक क्रियाकलाप संलग्नलाई प्रश्रय दिइरहेको छ । त्यसकै कारण पनि सरकारले पीडितको आवाज नसुनेझैं गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *