राजनीति

कांग्रेस महाधिवेशन : कुन उम्मेदवार कति बलियो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २६ गते २०:३९
कांग्रेस महाधिवेशन : कुन उम्मेदवार कति बलियो ? (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार हुने निर्वाचनका लागि भृकुटीमण्डपका तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। देशभरबाट ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु सहभागी छन् ।

प्रमुख सत्तारुढ दलको महाधिवेशन भएको र उक्त पार्टीको सभापति नै प्रधानमन्त्री भएकाले महाधिवेशनको सुरक्षालाई निकै कडा पारिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौंका प्रहरी प्रमुखले आइतबार मतदान स्थल र वरपरको सुरक्षा अवस्थाबारे अनुगमन गर्नुभएको छ।

२६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ । पार्टीमा तीव्र रुपमा देखिएको गुट फेरबदलको सिलसिलाले को उम्मेदवार कति बलियो ? भन्ने कुराको अनुमान लगाउन कार्यकर्तालाई समेत कठिन भएको छ ।

१४ औँ महाधिवेशनमा आउँदा नेपाली कांग्रेसका स्थापित गुटहरु छिन्नभिन्न भएका छन् । यसअघि पार्टीभित्र संस्थापन पक्षसँग विरोध र बार्गेनिङमा सक्रिय गुटहरु १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सुरु भएको निर्वाचन प्रक्रियामा छिन्नभिन्न भएका हुन् ।

इतरपक्षमा सबैभन्दा बलियो मानिएका वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार बन्न नसकेपछि सभापतिको दौडबाटै बाहिरिँदा उहाँको संरक्षणमा रहेका सबैजसो नेताहरुले छुट्टाछुट्टै प्यानल बनाएका छन् । लामो समय दुईवटा गुटको अभ्यास भइरहेको कांग्रेसमा १३ औँ महाधिवेशनमा अचानक कृष्ण प्रसाद सिटौला गुटको जन्म भएको थियो । देउवाविरुद्ध रामचन्द्र पौडेल, कोइराला परिवार, प्रकाशमान सिंहसँगै रहने अनुमान गरिएका सिटौला गगन थापासहितको छुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको थियो ।

पहिलो चरणमा सभापति निर्वाचित हुन नसकेपछि सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्नुभएको थियो । १४ औँ महाधिवेशनमा आइपुग्दा सिटौलाको गुटले देउवासँग एकीकरण गर्दै पदाधिकारीमा भागबण्डा मिलाएको छ । जसबाट प्रदीप पौडेल देउवा प्यानलको महामन्त्रीको उम्मेदवार बन्नु भएको छ ।

१३ औँ महाधिवेशनमा सिटौलाको प्यानलबाट महामन्त्री लडेका गगन थापा १४ औँमा आउँदा शेखर कोइरालाको प्यानलमा पुग्नु भएको छ । १३ औँ महाधिवेशनमा देउवाको उपसभापति भएका विमलेन्द्र निधि यसपटक एक उपसभापति र एक महामन्त्रीको प्यानलसहित सभापतिको उम्मेदवार बन्नु भएको छ ।

गत महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमा पराजित भएका अर्जुन नरसिंह केसी यसपटक रामचन्द्र पौडेलको निकट रहेर सक्रिय बन्नुभयो । पछिल्लो आम निर्वाचनमा कांग्रेसको लज्जास्पद हारपछि सभापति देउवालाई राजीनामाको दबाब दिन संगठित भएका युवाहरुमध्ये एक विश्वप्रकाश शर्मालाई देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिएर निकटमा राखे पनि महाधिवेशनमा महामन्त्रीमा समेट्न नसकेपछि उहाँ इतरपक्षमा पुग्नुभयो ।

गत महाधिवेशनमा पौडेललाई सभापतिमा उभ्याएर सहयोग गरेका प्रकाशमान यसपटक पौडेलको साथ छोडेर आफै सभापति लड्दा विश्वप्रकाशलाई आफ्नो प्यानलबाट महामन्त्रीमा उभ्याउनु भयो । गत महाधिवेशनअघि र त्यसपछि पनि पटकपटक मिल्न खोज्दै छुट्टिँदै गरेको कोइराला परिवार यसपटक सबैभन्दा बढी छिन्नभिन्न देखियो । पौडेलको प्यानलबाट महामन्त्री जितेका शशांक कोइरालाले दाइ शेखर कोइरालाई सभापतिमा स्वीकार्न चाहनु भएन ।

आफ्नो सभापतिको दाबीलाई खल्तीमै राखेर शशांक चुनावी मैदानबाट बाहिरिँदा गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला पनि शेखरको साथमा रहनु भएन । उहाँ प्रकाशमान सिंहको प्यालनबाट उपसभापतिमा उभिनुभयो । कोइराला परिवारकै सदस्यका रुपमा रहेका महेश आचार्य प्यानलबिना उपसभापतिको उम्मेदवार बन्नुभएको छ । त्यसो त नेपाली कांग्रेसमा गुट फेरबदल परम्परागत रोग हो । निकट भनेर चिनिने वा पारिवारिक भनेर पहिचान बनाएका नेताहरु निकटविरुद्ध नै उत्रिने गरेको इतिहास छ ।

एउटै परिवारभित्रका दुई भाइ वीपी कोइराला र मात्रिका कोइरालकै टसलले पार्टी नै विभाजन भएको थियो । उहाँहरुबीचको टसल पार्टीको नयाँ नेतृत्व चयनकै प्रक्रियाबाट सुरु भएको थियो । देशमा राणा शासन रहेका बेला प्रवासमा हुँदै आएको कांग्रेस महाधिवेशन प्रजातन्त्र स्थापनापछि २००९ बाट मात्रै नेपालमा हुन लागेको हो । २००९ मा जनकपुरमा भएको पाँचौ महाधिवेशनमा सभापतिका लागि वीपी र मात्रिकाबीच प्रतिस्पर्धा भएको थियो ।

२०१२ मा वीरगंजमा भएको पार्टी छैटौँ महाधिवेशन कांग्रेसको प्रजातान्त्रिक समाजवादको नीति अंगीकार गर्ने महाधिवेशनका लागि महत्वपूर्ण मानिन्छ । यो महाधिवेशनमा सुवर्ण शमशेर र गणेशमान सिंह सभापतिका प्रतिस्पर्धी हुनुहुन्थ्यो । कोइराला परिवारबाट उम्मेदवार नरहेको यो महाधिवेशनमा समेत कोइराला परिवारका सदस्य एक ठाउँमा उभिएनन् । वीपी सुवर्णको पक्षमा लाग्दा गिरिजाप्रसाद कोइराला गणेशमानको पक्षमा खुलेरै लाग्नुभयो ।

१४ औँ महाधिवेशनमा आइपुग्दा गणेशमान पुत्र प्रकाशमान सभापतिमा भिड्दा गिरिजापुत्री सुजाता प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवार हुनु एउटा संयोग बनेको छ । २०४७ सालमा भएको आठौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहबीचको टसलले कृष्णप्रसाद भट्टराई सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभयो । कांग्रेसमा पार्टीभित्रका प्रभावशाली नेताहरुको टसल, गुटको अदलबदलका कारण कतिपय महाधिवेशनमा तेस्रो व्यक्तिको पल्लाभारी हुने गरेका समेत विभिन्न उदाहरण छन् ।

यसपटक गुटहरुमा देखिएको फेरबदलले सभापतिमा कसको पल्लाभारी हुने अनुमान लगाउन कठिन छ । बलियो मानिएका शेरबहादुर देउवा पनि गत महाधिवेशनका सारथी विमलेन्द्र निधिलाई फकाउन नसक्दा दोस्रो चरणमा मतदान हुने अवस्थामा देउवालाई कठिन हुने देखिन्छ ।

दोस्रो चरणमा मतदान भए इतरका सबै आकांक्षीहरु एक भएर देउवालाई पराजित गर्ने अभिव्यक्ति निधिले दिइसक्नु भएको छ । पार्टीमा तीव्र रुपमा देखिएको गुटको फेरबदलले पहिलो चरणमा देउवा निर्वाचित हुन नसके दोस्रो चरण शेखर कोइरालाका लागि सहज बन्न सक्ने अनुमान कतिपयले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्